‘भीम रावलले पार्टी अध्यक्षसहित कसैको कुरा सुन्नुभएन, पराजित भएपछि आफूले भनेकै पद पाइँदैन’

काठमाडौं । पूर्वउपाध्यक्ष रहेका भीम रावलसहित तीन नेतालाई कारबाही गरेपछि नेकपा एमालेभित्र अहिले तरंग पैदा भएको छ । रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्दा पार्टी नेतृत्वको निर्णयप्रति असहमति राखेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

उनीहरुले पार्टी कार्यालयको भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ त दिएका थिए, तर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलकै जोडबलमा उनीहरु कारबाहीमा परेको आरोप छ । 

सचिवालय बैठकमा रावललाई कारबाही गर्ने विषयमा कसैले असहमति नराखेको भए पनि पाण्डे र तिमिल्सेनाको हकमा भने कतिपय सचिवालयका सदस्य निलम्बन गर्न नहुने पक्षमा उभिएका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले नै बोलाएर छलफल गरेर कुरा मिलाउनुपर्नेमा जोड दिएका थिए, तर ओली आफ्नो निर्णयबाट पछि हटेनन् ।

दुई नेतामाथिको निलम्बनबारे पुनर्विचार गर्नुपर्ने धारणा राख्नेमध्येकी एक हुन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । तीन नेतामाथि कारबाहीको चरणमा पुग्नु र त्यसपछिको टीकाटिप्पणीको विषयमा  एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग नेपालप्रेसले गरेको सवालजवाफः

– तपाईं आफैं सहभागी सचिवालयको बैठकले भीम रावलसहित तीन नेतालाई गरेको कारबाहीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । त्यसलाई कसरी लिनुहुन्छ ?

हामी अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ भनेर लागिरहेका छौं । त्यसैले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक छ । विधि र प्रक्रियामा सबै चल्नुपर्छ । बैठकले तीन जनालाई कारबाहीको निर्णय गरेको छ । भीम रावलजीको त लामै कुरा छ । त्यो सबैले देखिराख्नुभएकै छ ।

उहाँसँग अध्यक्षले पनि बोलाएर कुराकानी गर्नुभएकै हो, तर पनि उहाँले कसैको कुरा सुन्नुभएन । सल्लाहकारमा राखेको पनि स्वीकार्नुभएन । पराजित भएपछि त आफैंले भनेको जस्तो ठाउँ पाइँदैन नि ! उहाँ पार्टीले दिएको जिम्मेवारीअनुसार चलेको भए विस्तारै अरु त अघि बढिहाल्थ्यो नि !

तर अन्य दुई जनाको सवालमा निलम्बनको तहसम्म जान हुँदैनथ्यो भन्ने नै हो । उहाँहरुले गल्ती, कमीकमजोरी गरेकै भए पनि अध्यक्षले बोलाएर कुरा गर्नुपर्थ्यो । पार्टी भनेको एउटा परिवार नै हो नि ! त्यसैले अध्यक्षले बोलाएर सम्झाउनुभएको भए हुन्थ्यो । यो कुरा बैठकमा पनि उठेको थियो ।

तर दुवैतिर समस्या आयो । अध्यक्षमा पनि अगाडि पूरै निषेध गरेर जाने देखियो । उहाँहरु पनि पद्धतिलाई अंगाल्ने भन्दा पनि बाहिर बाहिर गइदिनुभयो । दुवैतिर समस्या देखिएकाले अहिलेको स्थिति देखापरेको हो ।

– यो कारबाहीले त एमालेमा नेतृत्वको निर्णयप्रति प्रश्नै उठाउन नपाइने देखियो नि होइन ?

यो निर्णयमा त अझै उहाँहरुसँग बसेर कुराकानी गरेर पुनर्विचार गर्नुपर्छ भन्ने नै लाग्छ । अब त्यो हुन्छ हुँदैन, थाहा छैन । अब हाम्रो केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ । त्यो बैठकसम्म त पर्खिनुपर्छ भन्ने लाग्छ ।

– पार्टी सचिवालयले गरेको निर्णयलाई केन्द्रीय कमिटीको बैठकले उल्ट्याउन सक्छ र ?

त्यो त अहिल्यै भन्न सकिँदैन । अब बैठकमा यसबारेमा कसरी कुरा उठ्छ भन्नेमा निर्भर रहन्छ । यो विषयमा साथीहरुले कुरा उठाउनुहुन्छ भन्ने लागेको छ मलाई पनि । त्यसैले अब के हुन्छ भन्ने निर्णय बैठकले नै गरेपछि टुंगिन्छ । त्यसैले केन्द्रीय कमिटीको बैठकसम्म पर्खिनैपर्छ भनेको हुँ ।

– तपाईंको बुझाइमा यो कारबाहीलाई कतिको स्वाभाविक मान्नुभएको छ ?

पार्टीको विधि सबैले मान्नैपर्छ नि ! अहिले अरु पार्टीतिर त जान चाहन्न, तर हाम्रो पार्टीभित्र पनि अनुशासन कमजोर भएको छ । अराजकता पनि बढेको छ । पार्टी पार्टी जस्तो चल्नुपर्‍यो नि ! त्यसमा हामी सबैबाट कमजोरी नै भएको देख्छु म । उहाँहरुको कुरामात्रै होइन, आमरुपबाट पनि अनुशासन कमजोर भएको देखिएको छ ।

– तर पार्टी नेतृत्वको यही प्रवृत्तिले त एमालेलाई फाइदा गर्दैन भन्ने टीकाटिप्पणी भइरहेको छ नि ?

नोक्सान त भइहाल्छ नि ! त्यसैले हामीले वैचारिक काम गर्नुपर्छ, पार्टीभित्र प्रशिक्षण चलाउनुपर्‍यो । विचार कमजोर भयो भने अनेकौं समस्या पार्टीमा देखिन्छन् ।

अहिले जस्तै अराजकता निस्कन्छ । त्यसैले पार्टीभित्रका नेता कार्यकर्ताको विचार कमजोर नबनाउन वैचारिक कामहरु फटाफट गर्नुपर्छ । त्यसमा पार्टी नेतृत्व पनि सचेत भएर लाग्नुपर्छ ।

Comments

3 responses to “‘भीम रावलले पार्टी अध्यक्षसहित कसैको कुरा सुन्नुभएन, पराजित भएपछि आफूले भनेकै पद पाइँदैन’”

  1. ksp pyl Avatar
    ksp pyl

    वैचारिक काम नभएको सही हो ।

  2. bharat kumar thapa Avatar

    पार्टीमा राख्नु पर्ने विचार जताततै राख्नु अनुशासन हिन काम हो केन्द्रीय कमिटीले उहाँहरूलाई आत्माआलोचना गराई पार्टी कामको जिम्मेवारी दिदा ठिक होला

    1. ksp pyl Avatar
      ksp pyl

      उद्देश्य एमाले बनाउने होईन नि । कसैको ईशारामा एमालेलाई कमजोर बनाउने महअभियानमा छन् भिम कमरेड । राष्ट्रवादका कुरा त देखाउन मात्रै भनेका हुन् यिनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *