नेकपा एसमा जान खोजेका वामदेव भन्छन्– उनीहरुले चासो दिएनन्, माधवका विरुद्ध लाग्छ कि भन्ने शंका गरे

काठमाडाैं ।  एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने विषयमा ‘कुनै छाँटकाँट नआएको’ प्रतिक्रिया दिएका छन् ।

विहीबार नेपाल प्रेसका लागि विश्वमणि सुवेदीलाई टेलिफोनमा आफ्नो प्रतिक्रिया दिँदै गौतमले उक्त कुरा बताएका हुन् ।
एमालेले बुधबार अर्का पूर्वउपाध्यक्ष भीम रावलसहित पोलिट्व्युरो सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई गरेको कारवाहीलाई गौतमले अत्याचार र निरंकुशताको संज्ञा दिए ।

वामदेवसँग गरिएको संक्षिप्त कुराकानी–

समाजवादीसँग एकता गर्ने कुरा कहाँ पुग्यो ?

उहाँहरुले चासो दिनुभएन । कहिले के कहिले के भन्ने । हामीसँग ५ गते भेट्दा दुई–दुईजनाको टीम बनाउने, चारजनाको त्यो टीमले तुरुन्तै काम शुरु गरिहाल्ने भनेको थियो। त्यो भएन । हिजो प्रमेश हमालले, लेख्नेओर्ने केही गर्ने होइ, मौखिक रुपमा गर्ने हो सबै भन्नुभएछ ।

छलफल त मौखिक रुपमा गर्ने हो । तर, टिपोट त गर्नैपर्छ । उहाँहरुले शंका गर्नुभयो माधवको विरुद्ध जान्छन् भनेर । मैले त भन्या थिएँ ‘कमरेड, तपाईंसँग आउने भनेको तपाईंलाई बलियो बनाउने हो, तपाईंलाई सहयोग गर्न आउने हो । यसमा शंका नगर्नुस् ।’

छलफल गर्ने टीमको टुंगो लाग्यो त ?

उहाँले खै के भन्नुभा’हो, थाहा भएन । पहिला दुई–दुईजना हुने भन्नुभयो । फेरि तीन–तीनजना बस्ने भन्नुभयो । हामीले दुईजना तयार गरियो । तीनजना भनेपछि तीनजना तयार गरियो । उतातिर केही पनि भएन ।

हिजो प्रमेशले बोलाउनुभयो, डीबी कार्कीलाई । केही गर्ने होइन, दुई–चारजना केन्द्रीय कमिटी को–को हुन्छ, यस्सो बस्ने हो भनेर त्यस्तै के–के हो, भन्नुभएछ । त्यति महत्व दिनुभएन । आज बलराम बाँस्कोटासँग कुरा भयो रे । तर, आज पनि महत्वका साथ कुरा भएन । मैले भनिदिएँ,

‘आधारभूत रुपमा केही महत्वपूर्ण निर्णय नगर्ने हो भने हामी पर्सीदेखि अरु किसिमले जान्छौं, प्रयत्न गर्दैनौं ।’
जगन्नाथ खतिवडाले फोन गर्नुभएको थियो । ‘के भइरहेको छ कमरेड’ भन्नुहुन्थ्यो । त्यो त मलाई थाहा छैन, के भा’छ, के भा’छ । अस्ति आउँदा एउटा कुरा भयो । आज केही पनि भएको छैन भनेँ । एकता हुनेजस्तो छाँटकाँट भएन ।

भीम रावलसँग केही कुरा भएको छैन ?

भीम रावलले छुट्टै पार्टी बनाउने भन्ने छ रे, मसित सम्पर्क गर्नुभा’छैन । उहाँले आफूलाई नै प्रमुख बनाउने भन्ने सोचाई होला । पार्टी सञ्चालन गर्न सक्ने, ठूलो पार्टी बन्नेजस्तो…भीम रावलको त्यही सुदूरपश्चिमतिर हो । त्यतातिर कस्तो छ उहाँको, मलाई थाहा छैन ।

उहाँहरुलाई गरिएको कारवाहीबारे तपाईंको धारणा के हो ?

त्यो त अत्याचार हो । निरंकुशता हो । त्यस्तो पनि हुन्छ कहीँ ? सिंगो राष्ट्रमा चर्चा चलेको विषयमा कसले के भन्छ, कसले के भन्छ । त्यसैका आधारमा कारवाही ? कम्युनिष्ट पार्टीको सिद्धान्तसमेत भएन ।

एमालेसँग कुरा गर्ने केही योजना छ ?

अहिले केही भएको छैन ।

Comments

2 responses to “नेकपा एसमा जान खोजेका वामदेव भन्छन्– उनीहरुले चासो दिएनन्, माधवका विरुद्ध लाग्छ कि भन्ने शंका गरे”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    अब रामनाम जपेकाे राम्राे । कसैले विश्वास गर्न छाेडेपछि त्याे राम्राे हुन्छ ।

    1. ksp pyl Avatar
      ksp pyl

      खुब राम्रो उपाय सिकाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *