राप्रपाको नयाँ पहल : सामाजिक सञ्जाल सदुपयोगका लागि ल्यायो कार्यविधि

काठमाडौं । देशको पहिलो राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टी पंक्तिभित्र लागू हुने गरी सामाजिक सञ्जाल कार्यविधि जारी गरेको छ । कार्यविधिमा पार्टी पदाधिकारीदेखि सदस्यहरुसम्मले सामाजिक सञ्जालमा गर्नुपर्ने र गर्न नहुने विषयहरु समावेश गरिएका छन् ।

नेपालमा कुनै पनि राजनीतिक दलले सामाजिक सञ्जाल सञ्चालनार्थ कार्यविधि बनाएको पहिलोपटक हो । सामाजिक सञ्जाललाई पार्टीको हितमा अधिकतम उपयोग गर्न र नेता कार्यकर्तालाई थप जिम्मेवार बनाउन यो कदम चालिएको प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

‘सामाजिक सञ्जाल अहिलेको सबैभन्दा सशक्त र प्रभावकारी सञ्चारमाध्यम हो । त्यसैले यसलाई अधिकतम सदुपयोग गर्ने तथा पार्टी पंतिलाई अनुशासनमा राख्ने सोचअनुसार कार्यविधि बनाएका छाैं’, श्रेष्ठले भने ।

पार्टी सदस्यबाट सार्वजनिक हुने विचार, बहसलाई व्यवस्थित गर्न वाध्छनीय देखिएकाले कार्य सम्पादन समितिले यो कार्यविधि बनाइ जारी गरेको प्रस्तावनामा उल्लेख छ ।

राप्रपाले केन्द्रीय प्रचार विभागको मातहतमा रहने गरी एक सामाजिक सञ्जाल इकाईको निर्माण गर्ने भएको छ । इकाईमा एक संयोजक र बढीमा चार सदस्य रहनेछन् । केन्द्रीय अध्यक्षको निर्देशन र प्रचार विभागको समन्वयमा चल्ने यस इकाईलाई ११ वटा काम–कर्तव्य र अधिकार तोकिएको छ ।

इकाइले पार्टीको सामाजिक सञ्जाल रणनीति तर्जुमा र कार्यान्वयन गर्ने, सामाजिक सञ्जालका प्रचार सामग्री तयारी गरी सम्प्रेषण गर्ने, पार्टीका सदस्यले गर्न हुने र नहुने विषयको आचार संहिता तयार गर्ने, अध्यक्ष र नेताहरुको विचार, मन्तव्य, भाषणको मूल अन्तर्यमा फरक नपर्ने गरी सन्देश सम्प्रेषण गर्ने लगायत काम गर्ने छ ।

यस्तै, पार्टी र सदस्यलाई अन्य पक्षबाट भएको प्रतिक्रियात्मक कार्यको प्रतिरक्षा गर्ने, गराउने, सदस्यले पार्टी हित विपरित गरेका सञ्जालको सामग्रीको स्क्रिन सट वा कपी राख्ने पार्टीका काम कारवाहीको विद्युतीय अभिलेख राख्ने लगायतका जिम्मेवारी पनि दिइएको छ ।

प्रचार विभागको सिफारिसमा अध्यक्षले इकाइको संयोजक नियुक्त गर्नेछन् भने संयोजकको सिफारिसमा अध्यक्षले सदस्यहरु नियुक्त गर्नेछन् ।

कार्यविधिमा पार्टीका सदस्यहरुले पालना गर्नुपर्ने पाँचवटा विषय उल्लेख छ । जसअनुसार अब कुनै पनि सदस्यले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमति लिएर मात्र प्रशारण, प्रेषण र सार्वजनिक गर्न सक्ने छन् ।

सदस्यले अर्को कुनै सदस्य वा अन्य व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्नुपर्ने भनिएको छ । पार्टी र नेतृत्वका काम कारवाहीका बारेमा सकारात्मक बहस गर्ने गरी धारणा राख्न सकिने कार्यविधिमा उल्लेख छ ।

यस्तै, पार्टीको आधिकारिक निर्णय भएको विषयमा सोही बमोजिम राख्नुपर्ने र प्रष्ट निर्णय नभएको विषयमा सकभर धारणा प्रकट नगर्ने तर गर्नुपर्ने अवस्थामा ‘मेरो विचारमा’ भन्नुपर्ने छ ।

यसैगरी, पार्टीका सदस्यले गर्न नहुने पाँचवटा क्रियाकलाप यस्ता छन्ः

–सदस्यले नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण(पोस्ट) गर्नु हुँदैन ।

–सदस्यले कुनै अर्को सदस्य वा व्यक्तिलाई होच्याउने, बद्नाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रुपमा आलोचना गर्न वा फोटो, भिडियो शेयर गर्न हुँदैन ।

–सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समुहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्वीट गर्न हुदैन ।

–सदस्यले आफ्नो कार्य क्षेत्रभित्र नपर्ने विषयमा प्रतिक्रिया वा सामाग्री प्रसारण वा प्रेषण गर्न हुँदैन ।

–सदस्यले पार्टीको सदस्य वा अन्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ग, धर्म, समुदाय प्रति विद्वेष फैलाउने गरी सामग्री सम्प्रेषण गर्न हुँदैन । तर स्वस्थ आलोचना गर्न बाधा पुगेको मानिने छैन ।

सदस्यले असल मनसायसाथ सम्प्रेषण गरेको सामग्री भए पनि त्यसले पार्टीको वृहत हितलाई असर पुग्ने देखिएमा तत्काल त्यस्तो सामग्री हटाउनु पर्ने र त्यसको जानकारी इकाईलाई तत्काल दिनु पर्ने कार्यविधिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *