सुदूरपश्चिमबाट शेखरको सन्देश- समयमै महाधिवेशन हुने संकेत छैन, पार्टीभित्र लड्नुपर्ने अवस्था आउनसक्छ

धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँगको भेटमा कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बताएका छन्।

१५ औं महाधिवेशनको तयारीका लागि देश दौडाहमा निस्किएका शेखरले धनगढीमा सुदुरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्तासँग भेटेर कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। सबैलाई न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंहरुमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईहरुको पीडा म बुझ्छु। अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ।’

कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।  उनले थपे, ‘समयमा भएन भने पार्टी कमजोर हुन्छ। अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।’

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको दाबी गरे।

उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन । कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट पनि सन्तुष्ट छैन।’

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए। कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो।

कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए। जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ आटै जिल्लालाई सम्बोधन समेत गरेका थिए।

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए।

१५ औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए। सुदुरपश्चिम कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश पनि हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *