काठमाडौं । कतिपय मिडियाको समाचार अनुसार आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सत्तापक्षीय सांसदहरूसँग भेट हुनुपर्थ्यो । तर त्यो समयमा प्रधानमन्त्री ओली भने नियमित स्वास्थ्य जाँचका लागि अस्पतालमा थिए ।
प्रधानमन्त्रीलाई थाहै नभएको र चासो समेत नदिएको विषयमा राज्य व्यवस्था समितिका सदस्यहरूलाई भेट्न बोलाएको भनेर गरिएको प्रचारप्रति सचिवालयले आश्चर्य व्यक्त गरेको छ । प्रधानमन्त्रीले मिडियाका समाचारप्रति आश्चर्य जनाउँदै कसले बोलायो ? भन्ने प्रश्न गरेको सचिवालय स्रोतले जनायो ।
सचिवालयका मिडिया विज्ञ रामशरण बजगाईँले भने- प्रधानमन्त्रीलाई थाहा पनि छैन, उहाँको आज १० बजे नियमित तालिका अनुसार अस्पताल जानुभयो । तर १० बजे सत्तापक्षका सदस्यलाई बोलाएको भनेर समाचार आएपछि हामी पनि अचम्मित भयौँ । यस्ता हुँदै नभएका भ्रम फैलाएर कसलाई के फाइदा हुने हो हामीलाई अचम्म लागेको छ ।
केही मिडियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूलाई प्रधानमन्त्रीले बोलाएको भनेर समाचार आएको थियो ।
राज्य व्यवस्था समितिका सदस्य समेत रहेका एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको निवास वा कार्यालयबाट आफूहरूलाई बोलावट नभएको र यसबारेमा प्रधानमन्त्रीले अहिलेसम्म आफूसँग समेत चासो नराखेको बताए ।
बर्तौलालले नेपाल प्रेससँग भने- समितिमा विचाराधीन विधेयकहरू चाँडो अघि बढुन् भन्ने बाहेक फलानो विधेयकमा यसो गरौँ भनेर अहिलेसम्म प्रधानमन्त्रीले भन्नुभएको छैन । म मुख्य सचेतक हुँ,मलाई समेत केही भन्नुभएको छैन । प्रधानमन्त्रीले बोलाएर अस्वाभाविक चासो दिएको भन्ने जसरी माओवादीनिकट पत्रिकाबाट प्रचार गरियो यसबाट हामी अचम्मित भएका छौँ । हुँदै नभएको र प्रधानमन्त्रीले नबोलाएको कुरा किन प्रचार गरियो ? प्रधानमन्त्रीले बोलाएको भए को को गए त बालुवाटार ?
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि प्रधानमन्त्रीले सत्तापक्षका सांसदहरूलाई बोलाएको भन्ने प्रचार गलत रहेको बताएका छन् । आवश्यक परे प्रधानमन्त्रीसँग आफूले समय लिएर कुरा गर्ने भनेको विषयलाई गलत ढंगले प्रचार गरिएको उनको भनाइ छ ।
बालुवाटार स्रोतका अनुसार सभापति खतिवडाले केही दिन अघिदेखि मुख्य सल्लाहकार विष्णु रिमालमार्फत प्रधानमन्त्रीसँग भेट्न समय मागेका थिए ।
रिमालले प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई समय मिलाउन भनौँला भन्ने जवाफ दिएबाहेक समितिका सदस्यहरूलाई भेट्ने कुरा कहिल्यै नभएको सचिवालयले जनाएको छ ।

Leave a Reply