‘टीम निर्मला’लाई चुनौती- महासंघमा पत्रकार छैनन्, पत्रकारहरुको महासंघ भएन

अहिले सिंगो पत्रकारिता राजनीतिक दलको झण्डामुनि ओत लाग्न पुगेको अवस्था छ । जसले गर्दा पाठकहरुले पत्रकारले गर्ने सवालमा राजनीतिक दलको गन्ध खोज्न थालेका छन् । यस्तो परिवेशमा साँच्चिकै पत्रकारिता गरिरहेका पत्रकारहरुले समेत झेलिरहेको प्रश्न हो- ‘तपाईंले गरिरहेको पत्रकारिता हो कि पार्टीकारिता ?’

कुनै राजनीतिक दल सम्बद्ध संस्थाको सदस्यता नलिएको पत्रकार भेटिनै गाह्रो छ । लोकतन्त्रमा कुनै अमुक राजनीतिक दलले बोकेको विचारलाई अंगाल्न पाइयो, तर त्यही विचार पत्रकारितामा हाबी गराइँदा समाजका बेथिति र विसंगतिमाथि प्रश्न गर्नुपर्ने पत्रकारिताले प्रश्नको साख नै गुमाउँछ ।

देशभरमा ९ हजारभन्दा बढी पत्रकार छन् । ९ हजार पत्रकारको हकहितका लागि लड्ने साझा संगठन छ, नेपाल पत्रकार महासंघ । क्रियाशील पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखाको नयाँ नेतृत्वका लागि मंसिर २८ गते निर्वाचन भयो । मत परिणाम पनि आइसकेको छ ।

महासंघको करिब सात दशक लामो इतिहासमा पहिलो पटक नेतृत्व महिलाको काँधमा आएको छ । आधा आकाश ढाक्ने महिलाहरुको तर्फबाट नेतृत्वमा पुग्नुभएकी निर्मला शर्मा र उहाँ नेतृत्वको टीमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि छ ।

शर्मा अध्यक्ष हुनु ऐतिहासिक भए पनि महासंघको महाधिवेशन राजनीतिक दलको कृपादृष्टिभन्दा पृथक हुन सकेन । सत्तासीन एमाले-कांग्रेस निकट पत्रकारहरु मिलेर एक गठबन्धन बनाए । उनीहरुले पार्टीकै निर्देशनमा गठबन्धन तयार गरे, पार्टीकै निर्देशनमा उम्मेदवार छाने । राज्यको चौथो अंग भनिने पत्रकारहरुले ‘पार्टीको निर्देशन माने’ भनेर लेख्दा उस्तो मजा चाहिँ नआउने रहेछ ।

राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई महासंघको सदस्यता दिनुपर्ने, राजनीतिक दलको आदेशअनुसार चुनावी गठबन्धन बनाउनुपर्ने, राजनीतिक दलको निर्देशनअनुसार उम्मेदवार चयन गर्नुपर्ने र दलकै निर्देशनमा दलकै नेतालाई मतदान गर्नुपर्ने अवस्था हो भने यो महासंघ क्रियाशील पत्रकारहरुको छाता संगठन नभई राजनीतिक दलहरुको भ्रातृ संगठन जस्तो भएको छ ।

पार्टीकै निर्देशनका कारण सत्ता गठबन्धनभित्रका पत्रकारहरुबीच विभाजन ल्यायो । कांग्रेस निकटका पत्रकारहरुले केन्द्रदेखि जिल्लासम्म विद्रोह गरे । एमाले निकटहरुले पनि ठाउँठाउँमा सानोतिनो विद्रोह गरे । यो गठबन्धनलाई भोट हाल्न एमाले-कांग्रेसले एक्लाएक्लै र संयुक्त रुपमा विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो । त्यति गर्दा पनि पार्टी निर्देशनको बर्खिलाप जानेलाई कारबाहीसमेत भयो ।

विद्रोह गर्ने कांग्रेसी पत्रकार र सत्ताइतरका अन्य पाँच दल मिलेर अर्को गठबन्धन बनाए । त्यो गठबन्धनलाई कतैकतै एमाले पत्रकारहरुले पनि सहयोग गरे । अर्को गठबन्धनलाई सहयोग गर्ने त्यस्ता एमाले पत्रकारहरु पनि कारबाहीमा पर्ने निश्चित प्रायः छ । कांग्रेस निटक प्रेस युनियनभित्र घोषित रुपमै विद्रोह भयो भने एमाले निकट प्रेस चौतारीमा अघोषित रुपमा । यी दुवैका विद्रोहीहरुसमेत संलग्न भएर सत्ता बाहिरका अन्य दलका पत्रकारहरुको सहभागितामा नयाँ गठबन्धन बन्यो ।

खैर, यी यावत समीकरणका विषय यो आलेखका लागि सान्दर्भिक छैन । पंक्तिकारले यो आलेखमा नेपाल पत्रकार महासंघ र नेपाली पत्रकारिताको निष्पक्षताको विषयलाई उजागर गर्न खाजेकोमात्रै हो । यो निर्वाचन र यस्तै खालका विगतका नजिरले व्यवसायिक पत्रकारहरुको पेशागत हकहितका लागि काम गर्ने भनिएको छाता संगठन नेपाल पत्रकार महासंघ कत्तिको निष्पक्ष, स्वतन्त्र र व्यवसायिक छ भन्ने प्रश्न झन पेचिलो बनेको छ ।

राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई महासंघको सदस्यता दिनुपर्ने, राजनीतिक दलको आदेशअनुसार चुनावी गठबन्धन बनाउनुपर्ने, राजनीतिक दलको निर्देशनअनुसार उम्मेदवार चयन गर्नुपर्ने र दलकै निर्देशनमा दलकै नेतालाई मतदान गर्नुपर्ने अवस्था हो भने यो महासंघ क्रियाशील पत्रकारहरुको छाता संगठन नभई राजनीतिक दलहरुको भ्रातृ संगठन जस्तो भएको छ ।

महासंघको चुनावको समयमा तिनै महासंघभित्रका ‘नेता पत्रकार’हरुले आफ्नो भाषणमा पटकपटक सदस्यता शुद्धीकरणको प्रसङ्ग उठाउने गरेका छन् । करिब १८ वर्ष पत्रकार महासंघको सदस्य हुँदा धेरै पटक धेरै व्यक्तिले सदस्यता शुद्धीकरणको भाषण गरेको सुनें । भाषण सुन्दा कुनै दिन फिस्स हाँसेंमात्रै, कुनै दिन अचम्ममा परें, कुनै दिन आक्रोशित पनि भएँ । कुनै दिन महासंघको सदस्यता नै त्याग्ने सोच नआएको पनि होइन ।

खास पत्रकार भनेको त महासंघको सदस्यमात्रै हो भन्ने पनि लागेको थियो । व्यवसायिक वा क्रियाशील पत्रकारहरुको छाता संगठनको सदस्यता लिन निकै कोसिस पनि गरियो । करिब तीन वर्षको प्रयासपछि सदस्य भइयो पनि, तर त्यो महासंघको हविगत सदस्य बनिसकेपछि थाहा भयो ।

पत्रकारिताका सुरुवाती दिनमा महासंघको सदस्य भएपछि के के न हुन्छ भन्ने लागेको थियो । खास पत्रकार भनेको त महासंघको सदस्यमात्रै हो भन्ने पनि लागेको थियो । व्यवसायिक वा क्रियाशील पत्रकारहरुको छाता संगठनको सदस्यता लिन निकै कोसिस पनि गरियो । करिब तीन वर्षको प्रयासपछि सदस्य भइयो पनि, तर त्यो महासंघको हविगत सदस्य बनिसकेपछि थाहा भयो ।

‘व्यवसायिक पत्रकार’हरुको महासंघ पार्टीकारितामा फसेको ज्वलन्त उदाहरण विगतका केही अधिवेशनहरु हुन् । अहिले देशभरका शाखामा चुनिएको नेतृत्वको हविगत पनि यस्तै छ । पत्रकारिताको ‘प’सँग पनि नजिक नभएकाहरुको समितिमा बहुमत छ । ‘नेता पत्रकार’हरुको कृपाले महासंघको सदस्यता पाउँछन् । ती सदस्यहरु नेता पत्रकारहरुकै कारण शुद्धीकरणमा पनि पर्दैनन् । र, यस पटक पनि उनीहरुकै बोलवाला रह्यो ।

महासंघमा राजनीतिक दलको सक्रिय भूमिकामा रहेका, दलको टिकटबाट जनप्रतिनिधि भइसकेका व्यक्तिहरुको सदस्यता पनि नवीकरण हुन्छ । ती सदस्यहरु साँच्चै क्रियाशील हुन् वा होइनन्, तिनीहरुको पत्रकारिता क्षेत्रमा कुनै साइनो सम्बन्ध केही छ वा छैन, त्यसको कसैलाई जानकारी छैन । मात्रै अनुहार हेरिन्छ । जुन शाखामा जुन दलको वर्चस्व छ, सो शाखामा सोही दलका कार्यकर्ताहरु मात्रै सदस्य हुन्छन् । अन्य दलको समर्थन गर्नेहरुलाई निष्क्रिय, राजनीतिमा सक्रिय भन्दै पन्छाइन्छ । नयाँ सदस्यको हकमा पनि पार्टीकै निर्देशनमा फर्जी कागज तयार गरेर सदस्यता वितरण गरिन्छ ।

साँच्चिकै पत्रकारिता गरिरहेका असल पत्रकारहरु महासंघमा सक्रिय देखिँदैनन् । महासंघ पार्टीकारिताभित्र गिजोलिएको छ । कुनै क्रियाशील पत्रकारले नेतृत्वका लागि स्वतन्त्र रुपमा पत्रकारहरुका बिचमा आफूलाई परीक्षण गर्नसक्ने अवस्था छैन । पार्टीको ‘ह्वीप’का कारण उसले एक भोट पनि पाउन नसक्ने अवस्था छ । यस्तै सधैं भइरहने हो भने किन पत्रकार महासंघको सदस्यता भन्ने प्रश्न पेचिलो बन्दै जाने निश्चित छ ।

साँच्चिकै पत्रकारिता गरिरहेका असल पत्रकारहरु महासंघमा सक्रिय देखिँदैनन् । महासंघ पार्टीकारिताभित्र गिजोलिएको छ । कुनै क्रियाशील पत्रकारले नेतृत्वका लागि स्वतन्त्र रुपमा पत्रकारहरुका बिचमा आफूलाई परीक्षण गर्नसक्ने अवस्था छैन । पार्टीको ‘ह्वीप’का कारण उसले एक भोट पनि पाउन नसक्ने अवस्था छ ।

विश्वभर सञ्चार जगतलाई बोलीचालीको भाषामा राज्यको चौथो अंग भन्ने गरिएको छ । यसको अर्थ शक्ति पृथकीकरणको सिद्धान्तअनुसार पत्रकारिता जगत पनि स्वतन्त्र छ भन्ने हो, तर त्यो चौथो अंग आफैंमा असक्षम भयो भने वा अरुको ओत लागेर बस्नुपर्‍यो भने यसलाई चौथो अंग भनिरहन जरुरी छैन ।

पत्रकार महासंघमा अहिले भर्खरै नयाँ नेतृत्व आएको छ । यो नयाँ नेतृत्वले महासंघका सबै समिति/शाखाहरुलाई पार्टीकारिताको पञ्जाबाट मुक्त गराउने हिम्मत गर्नुपर्छ । आगामी अधिवेशनमा बरु थोरै सदस्य होऊन्, तर तिनीहरु साँच्चिकै सक्रिय पत्रकार होऊन् । र, अध्यक्ष शर्माको नेतृत्वले गर्नुपर्ने प्रमुख काममध्ये एक हो, महासंघको शुद्धीकरण ।

एक त पत्रकारिता जोखिमपूर्ण पेशा हो । सँगै मल्टिमिडियाको जमानामा पत्रकारहरुले अनेकखाले व्यवसायिक चुनौतीहरु झेलिरहेका छन् । नयाँ पुस्ता पत्रकारितामा आकर्षित हुन सकिरहेका छैनन् । महासंघमा ८०-९० प्रतिशत पत्रकारहरु गैरपत्रकार छन् । अर्कातिर सिंगो पत्रकारिताले नै जनताको विश्वास गुमाइरहेको छ ।

त्यो विश्वास फर्काउनुपर्ने चुनौती छ अहिलेको नयाँ नेतृत्वलाई । सँगै तमाम परिवर्तनमा अग्रपंक्तिमा रहेर काम गरेको पत्रकारिताको विरासतलाई फर्काउनुपर्ने चुनौती पनि छ शर्मा नेतृत्वको महासंघलाई । महासंघ क्रियाशील पत्रकारहरुको अभिभावक संगठन हुनुपर्छ, गैरपत्रकारहरुले राजनीतिक कबड्डी खेल्ने ठाउँ होइन । महासंघ जनताको पक्षमा बोल्ने पत्रकारहरुको संगठन हुनुपर्छ, राजनीतिक पार्टीको उर्दी मान्ने महासंघ हामीलाई चाहिएको छैन ।

त्यसैले महासंघको नयाँ नेतृत्वले पत्रकारिताको आफ्नो ओज बचाउन, आमजनताको विश्वास फर्काउन मेहनत गर्नुपर्ने देखिन्छ । महासंघ कसैको आदेशले होइन, विधिले चल्ने बनाउनुपर्ने चुनौती अध्यक्ष शर्मा नेतृत्वको टीमलाई छ । अन्यथा प्रत्येक अधिवेशनमा दलहरुका गठबन्धनहरु बन्नेछन्, दलहरुकै निर्देशनमा नयाँ सदस्यता वितरण हुनेछन्, पुराना नवीकरण हुनेछन् । उम्मेदवार दलले नै चयन गरिदिनेछन् र भोट हाल्न पनि दलले नै निर्देश गर्नेछन् । यसो हुँदा न पत्रकारको इज्जत रहन्छ न त पत्रकारिताको साख नै रहन्छ ।

Comments

One response to “‘टीम निर्मला’लाई चुनौती- महासंघमा पत्रकार छैनन्, पत्रकारहरुको महासंघ भएन”

  1. samir Avatar
    samir

    दलका झोलेहरु कुनै हालतमा पत्रकार हैनन। तिनीहरुले दिने कन्टेट विश्वास गर्न सकिन्न!
    दलका झोले पत्रुकारलाई सबै स्वतन्त्र नेपाली नागरिकले बहिष्कार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *