प्रदेशका कर्मचारी र तिनका परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडि बढ्यो: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बीमाको कभरेज बढाउन र बिमितहरूको सेवासुविधा प्रवाहमा प्रभावकारिता ल्याउन स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूलाई मुख्यमन्त्री सिंहले यस्तो निर्देशन दिए ।

उनले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा स्वास्थ्य बीमा गराउनेको संख्या कम रहेको भन्दै वृद्धि गर्न बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्य तत्परतापूर्वक बढाउन निर्देशन दिए ।

उनले बीमावापतको रकम अस्पतालले नपाउने, बिमितको शल्यक्रिया लगायत उपचार कार्यमा अस्पतालले ढिलाइ गरिदिने, इच्छाएका बेला बीमा दर्ता नहुने र निश्चित समयावधिभित्र बिमा सक्रिय नहुने लगायत समस्याका बारेमा सम्बद्ध पक्षसँग छलफल गरी समाधान गर्न समेत अधिकारीहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले प्रदेशका बढीभन्दा बढी अस्पतालमा बीमामार्फत् प्राप्त हुने स्वास्थ्यसेवा विस्तार गर्नुपर्ने भन्दै प्रत्येक अस्पतालमा स्वास्थ्य बीमा डेस्क राख्नुपर्ने उल्लेख गरे । उनले स्वास्थ्य बीमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए ।

उनले प्रदेशका कर्मचारी तथा तिनका परिवारलाई स्वास्थ्य बीमाको परिधिमा अनिवार्य ल्याउनुपर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना कर्मचारीका लागि स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्धताको निर्णय गरेको थियो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह, मन्त्रालयका निमित्त प्रदेश सचिव राजेशकुमार मिश्र, अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा।वर्षा प्रकाश, अस्पताल नर्सिङ्ग प्रशासक सुनिता गुप्ता, जनस्वास्थ्य अधिकृत विजयकुमार यादवलगायत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *