माओवादीको निष्कर्ष- राज्यशक्तिको दुरुप्रयोगका बावजुद पनि कांग्रेस र एमालेको जनमत ह्रासउन्मुख देखियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ दल कांग्रेस एमालेले राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद पनि जनमत घटेको निष्कर्ष निकालेको छ।

मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिमा पठाएको सर्कुलरमा पार्टीप्रति उत्साहजनक परिणाम प्राप्त भएको र पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको उल्लेख गरेको छन्।

सर्कुलरमा भनिएको छ, ‘कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासउन्मुख अवस्थामा देखिएको छ । यस उपनिर्वाचनमा हाम्रो पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको छ । हरेक स्थानमा नेतृत्व तहका कमरेडहरू समेतको क्रियासिलताले निर्वाचनलाई परिणाममुखि बनाउन सफल रहेको देखिन्छ ।’

पार्टीले गरेको उपलब्धिका अलावा पनि पूर्वविजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पंक्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सवै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका बिषयहरूमा केही सीमा कमीकमजोरी पनि रहन गएको उल्लेख छ।

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकतावद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई बिस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही बिचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा केन्द्रित हुनुपर्ने सर्कुलरमा उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *