गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित

काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो, तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित ८ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो, तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।

Comments

One response to “गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित”

  1. ksp pyl Avatar
    ksp pyl

    को को सदस्य अनुपस्थित रहे जनताले थाहा पाउनुपर्छ । त्यसपछि आफ्नो जिम्माको काम नगर्ने तर अरूका कुरा काट्दै हिडने तिनलाई जनताको बीचमा नङ्ग्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *