काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्षतर्फ सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस समर्थित प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्मा अगाडि छिन् ।
उनले हालसम्म ५८९ मत ल्याएर अग्रता कायम राखेकी हुन् ।
प्रेस युनियनका बागी अध्यक्ष उम्मेदवार रमेश विष्टले ४७७ मत ल्याएर शर्मालाई पछ्याइरहेका छन् । विष्टलाई माओवादी केन्द्र समर्थित प्रेस सेन्टर, एकीकृत समाजवादी समर्थित समाजवादी प्रेसलगायतले समर्थन गरेका छन् ।
महासङ्घको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।
महासंघको महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
केन्द्रदेखि अधिकांश प्रदेश र जिल्लामा सत्तारुढ एमाले र कांग्रेस समर्थित पत्रकार संगठनहरुको गठबन्धन र माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत समर्थित संगठनसहित प्रेस युनियनको वागी पक्षको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।

Leave a Reply