वर्षमानको प्रश्न: नियामक निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरू हुँदा पनि किन अर्थतन्त्रमा सुधार भएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार उनले सरकार अर्थतन्त्र चलायमान बनाउन चुकेको बताए ।
नियामक निकायका पदाधिकारीहरू वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरू नै रहेको चर्चा गर्दै उनले त्यसका परिणाम अर्थतन्त्रमा देख्न नपाइएको उल्लेख गरे । ‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बिमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्’, पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरू नै छन् । तर, किन रिजल्ट आएन रु आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन ?’ । उनले बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यस विषयमा गम्भीर बन्न आग्रह गरे ।
पुनले आफू अर्थमन्त्री भएका बेला बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकताबारे प्रश्न उठेपछि राजीनामा मागे पनि उनले नियामक निकायका नाममा आफ्नो आग्रह अस्वीकार गरेको बताए । नागरिकतामा फरकफरक तीनवटा मिति फेला परेपछि सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुद्धा दायर गरेको छ । फरक प्रसङ्गमा पुनले प्राथमिकता निर्धारणका नाममा सरकारले पूर्ववर्ती सरकारले अघि सारेका ठुला विकास आयोजनाका बजेट कटौती गर्ने तयारी गरेको सुन्नमा आएको भन्दै त्यसो नगर्न सचेत गराए । ‘नयाँ प्राथमिकता निर्धारण गर्ने नाममा मैले अघि सारेका ठुला आयोजनाको बजेट कटौती गर्ने तयारी भइरहेको छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘यस्तो तरिकाले खर्चको प्याटन बिगार्छ । बजेटमा राखिएका आयोजनाको कार्यान्वयन गरिनुपर्छ ।’
पुनले निष्पक्ष भएर काम गर्दा मात्र व्यावसायिक र लगानीमैत्री वातावरण बन्ने भन्दै मनोमानी नगर्न सरकारलाई चेतावनी दिए ।

Comments

One response to “वर्षमानको प्रश्न: नियामक निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरू हुँदा पनि किन अर्थतन्त्रमा सुधार भएन ?”

  1. ksp pyl Avatar
    ksp pyl

    आफू हुँदा मात्र सुन तस्करीलाई मलजल गर्नतिर लाग्ने, सरकार प्रमुख पूरै भारतको दलाली गर्न लाग्ने , जे काम गर्दा नि पैसा मात्र माग्ने अनि अर्थतन्त्र ध्वस्त बनाएर छोडने । ध्वस्त अर्थतन्त्र ४-५ महिनामा नै उस्तै हुन सक्छ भनेर खोइ त काम गरेको भन्ने । यस्तो अबुझ पनि नेपालको अर्थमन्त्री थियो भन्दा पो अचम्म लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *