फोहोरबाट मोहर बनाउँदै कर्माचार्य दम्पती

काठमाडौं । नेपाली संस्कारमा जन्मदेखि मृत्यु पर्यन्तसम्म ‘फूल’को प्रयोग गरिन्छ । पूजापाठ, प्रेमालाप, पाहुनाको स्वागत, सजिसजावट लगायतमा फूलको अनिवार्य प्रयोग गर्ने गरिन्छ । तर, फूलको प्रयोग गरिसकेपछि फोहोरमा फाल्ने गरिन्छ । त्यो फोहोर व्यवस्थापन हामी सबैको टाउको दुखाइको विषय बन्ने गर्छ ।

यसरी व्यवस्थापनमा समस्या बन्ने गरेको फोहोरबाट मोहर बनाउन सकिन्छ भन्ने उदाहरण दिइरहेका छन् कर्माचार्य दम्पतीले । उनीहरूले प्रयोग भइसकेको फूललाई फोहोरको थुप्रोमा पुग्नु अगाडि नै त्यसलाई पुनः प्रयोग गरेर फूलबत्ती नामक धुप उत्पादन गरिरहेका छन् ।

अमोद कर्माचार्य र गुञ्जा श्रेष्ठ श्रीमान श्रीमती हुन् । उनीहरूले भूमिथान नामक उद्योग सञ्चालन गरेर फूलबत्ती बनाइरहेका छन् । ‘भूमिथान नामक स्टार्टअप उद्योग सञ्चालन गरिरहेका छौँ । जसबाट फूलबत्ती पनि उत्पादन गछौँ । यसमा खेर जाने फूललाई पुनः प्रयोग गरेर हामीले धुप बनाइरहेका छौँ’, भूमिथानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेकी गुञ्जा भन्छिन् ।

विराटनगरमा जन्मिएकी उनी हाल काठमाडौंको कपन निवासी हुन् । उनले कपनमा रहेको आफ्नै घरमा भूमिथान नामक स्टार्टअप उद्योग सञ्चालन गरिरहेकी छिन् ।

हुनत उनी प्रोफेसर एचआर हुन् । डेढ दशकदेखि उनी यस क्षेत्रमा आबद्ध छिन् । यससँगै उनले विगत दुई वर्षदेखि स्टार्टअप उद्योग पनि चलाइरहेकी छिन् ।

भूमिथान सञ्चालन गर्ने सोच उनीसँगै उनका श्रीमान अमोदको पनि हो । उनका श्रीमान एक एनजीओमा आबद्ध थिए । उनीहरूको यो सोचलाई उद्योगकारुपमा परिणत गरेर सञ्चालन गर्न गुञ्जाले दुई वर्ष एचआरको काम पनि छोडिन् । गएको सेप्टेम्बरदेखि पुनः एचआरको काम शुरु गरेकी उनी अहिले दुबैतिरको काम आबद्ध छिन् ।

‘एनजीओमा काम गर्दैगर्दा त्यहाँ तोकिएको क्षेत्रमा रहेर काम गर्नुपर्ने हुन्छ । तर, आफूले चाहेको काम गर्न पाइँदैन । त्यसैले उहाँले यो उद्योग शुरु गर्ने भन्नु भयो । मैले पनि सोच बनाइरहेको थिए । सोही अनुसार हामीले योजना बनाएर यो उद्योग शुरु गरेका हौँ,’ गुञ्जा सुनाउँछिन् ।

भूमिथान दर्तापछि उनीहरूले खेर गएको फूलबाट धुप बनाउने योजना भए । उनीहरू पहिलो पटक फूल संकलन गर्न दक्षिणकाली पुगे । त्यहाँबाट फूल ल्याएर उनीहरूले धुप बनाउन थाले । त्यसपछि अन्य मन्दिरहरूमा पनि गएर फूल संकलन गर्न थाले । अहिले दक्षिणकाली, पशुपति लगायत काठमाडौं उपत्यकाका विभिन्न मन्दिरहरूबाट फूल संकलन गर्ने गर्छन् ।

‘खेर गइरहेको फूलहरूबाट धुप बनाउन सकिन्छ भन्ने सोच आयो । यसबारे हामीले रिसर्च गर्दा हाम्रोमा प्रयोग भइरहेको फूल धेरै खेर गइरहेको पायौँ । त्यसको पुनः प्रयोग गर्दा राम्रो हुन्छ भनेर नै हामीले फूलबत्ती नामक धुप उत्पादन गर्न शुरु गरेका हौँ’, उनले भनिन् ।

गएको तिहारमा भने उनीहरूले फूल संकलन गर्ने क्याम्पेन नै सञ्चालन गरे । ‘फ्लावर कलेक्सन ड्राइभ’ मार्फत ९१ केजी फूल संकलन गरेका छन् ।

नेपाली धुप खरिद गर्नु भनेको एक हिसावले फोहोर व्यवस्थापन गर्नु पनि हो । हाम्रो धुप किन्दा फूल ल्याण्डफिल जान जोगिन्छ । हामीले ९१ किलो फूल संकलन नगरेको भए त्यो फूल फोहोरको थुप्रोमा नै जान्थ्यो’, उनले भनिन् ।

उनका अनुसार धुप बनाउन फूललाई धूलो बनाउनुपर्छ । त्यो धुलोसँग तेजपत्ता, दालचिनी, रातोधुपी लगायत मिसाइन्छ । त्यो धुलो वरपरका महिलाहरूलाई दिने गरिन्छ । र, उनीहरूले धुप बनाउने र उद्योगलाई दिने गर्छन् ।

‘उहाँहरूलाई शुरुमा हामीले तालिम दिन्छौँ । त्यसमा काम गर्न इच्छुक महिलाहरूलाई हामीले काम दिन्छौँ । त्यस अनुसारको हामीले उहाँहरूलाई भुक्तानी समेत गर्छौँ । जुन भुक्तानी बजारमा अन्य कम्पनीहरूले दिएकोभन्दा राम्रो छ’, उनले सुनाइन् ।

त्यसबाहेक हालसम्म ३५ जनाभन्दा बढी महिलाहरूलाई उनीहरूले धुप बनाउने तालिम प्रदान गरिसकेका छन् । जसले आफै धुप बनाएर राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिइन् ।

नेपाली बजारमा धुपबत्तीको माग भने राम्रो रहेको उनको अनुभव छ । ‘हामीले एक पटक बजार रिसर्च गरेका थियौँ । त्यसबेला हामीले नेपालमा धुपको राम्रो व्यापार भएको पायौँ । करोडौँको धुप हाम्रोमा धुप आयात हुने गरेको देखिएको थियो । नेपाली उत्पादनले आयातलाई विस्थापित गर्न सकिन्छ’, गुञ्जा भन्छिन् ।

उनीहरूले उत्पादन गरिरहेको धुपबत्ती नेपालका विभिन्न सहरहरूमा पु¥याउने गरेका छन् । त्यसबाहेक उनीहरूले विदेश समेत निर्यात गर्ने गरेका छन् । हालसम्म चीन, अष्ट्रेलिया, अमेरिका लगायत देशहरूमा निर्यात गर्ने गरिएको छ ।

उनीहरूले धुप बिक्री गर्नका लागि विभिन्न ठाउँमा आउटलेट राखेका छन् । त्यसबाहेक उनीहरूले अनलाइन मार्फत पनि बिक्री वितरण गर्ने गरेका छन् । फूलबत्तीको मूल्य प्रतिप्याकेट ३०० रुपैयाँदेखि ३७५ रुपैयाँसम्म राखिएको छ ।

धुपबत्तीको प्याकेजिङ पनि प्लाष्टिकमा गरिएको छैन । प्लाष्टिकको अल्टरनेटिभमा उनीहरूले कपडाको झोलामा प्याकेजिङ गर्ने गरेका छन् । प्लाष्टिकको अल्टरनेटिभमा कटनको कपडाको झोला प्रयोग गरिएको उनको भनाई छ ।

सरकारले स्टार्टअप व्यवसायलाई सहयोग नगरेको उनको गुनासो छ । गुञ्जा भन्छिन्, ‘हामीले स्टार्टअप उद्यम शुरु गरेको करिब तीन वर्ष हुन लाग्यो । तर हालसम्म हामीले खासै सहयोग पाएका छैनौँ । सहयोग गर्छौ भन्नुहुन्छ तर सहयोग भने गर्नु भएको छैन ।’

स्टार्टअप उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा सरकारले सहयोग गर्नु पर्ने उनको मग रहेको छ । गुञ्जा भन्छिन्, ‘हामीलाई बजारको समस्या धेरै हुन्छ । आफ्नो बलबुताले भ्याएसम्म बिक्री गरेपनि त्यो पर्याप्त हुँदैन । यसमा सरकारले सहयोग गरिदिनु पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *