उपनिर्वाचनबाट अध्यक्ष र उपाध्यक्ष थपिएकोमा एमाले सन्तुष्ट, शहरी जनमतसँग अझै बढी जोडिने निर्णय

काठमाडौं । नेकपा एमालेले हालै केही स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको ठहर गरेको छ । केन्द्रीय सचिवालयको बैठकमा उपनिर्वाचनको बारेमा पनि छलफल भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोलाई सन्तोषजनक रहेको बताए ।

तर काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए ।

उनले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको जानकारीसमेत दिए ।

एमालेले २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा जुन ठाउँमा एउटा पार्टीले जितेको हो,अहिले उपनिर्वाचनमा अर्कोले जितेको भन्दै उनले जनमत परिवर्तन हुनुमा जनप्रतिनिधिको कामको मूल्यांकन समेत जोडिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *