काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनी आज भारत गएका हुन् ।
उनी मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी धर्मपत्नी निता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका हुन् । प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उनले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मंसिर २७ गते भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।
प्रधान सेनापति सहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Leave a Reply