प्रचण्डकाे आरोप- गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टी- इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए ।

उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताए ।

‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्न सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्‍याे’, उनले भने, ‘त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्‍याे । उनीहरुमाथि कारबाही गर्नुपर्‍याे । यहाँ अर्बौं भ्रष्टाचार गर्नेहरु, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरुमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौं ।’

अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलका सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए ।

उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र कांग्रेसले चुकाउनुपर्ने बताए ।

Comments

2 responses to “प्रचण्डकाे आरोप- गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ठ सत्ता छोडनुपर्दा असन्तुलित भएजस्तो लाग्यो । बर्बराएर के के बोलेको सुन्नुपर्ने हो ।

  2. ksp pyl Avatar
    ksp pyl

    गिरीबन्धुको कुरा भारतको निर्देशनमा आएको हो बिआरआई पास भयो भनेर ।प्रचण्ड भएसम्म न नेपालमा शान्ति हुन्छ न विकास । नेपाललाई अस्थिर बनाउन र देशभक्तहरू विरूद्व प्रयोग गर्न विदेशीले तयार गरेको शिखण्डी हो प्रचण्ड । ८४ पछि यिनको नामोनिशान मेटाओै । बरू राप्रपा हुन्छ हत्यारा, लुटेरा माओवादी काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *