काठमाडौं । अष्ट्रेलियन बलर विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को एकै खेलमा ६ विकेट लिँदै सनसनी मच्चाएका छन् । उनको घातक बलिङमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भयो ।
टस जितेर ब्याटिङ रोजेको पोखराले विष्फोटक सुरुवात गर्दै ३.४ ओभरमा ४६ रन जोडेको थियो । ओपनरद्वय एन्ड्रर्यू गोउस र दिनेश खरेलले चौका छक्काको वर्षा गरिरहेका थिए । तर, ३.५ ओभरमा विपिन शर्माले गोउसको विकेट लिएपछि पोखराको ब्याटिङ तासको पत्ता झैं धराशयी बन्यो ।
कर्णालीका कप्तान सोमपाल कामीले १० औंं ओभरमा स्पिनर बोसिस्टोलाई बलिङमा उतारेका थिए, जतिबेला पोखराको खातामा ६५ रन चढिसकेको थियो । त्यस उप्रान्त भने ब्याट्सम्यानहरु बोसिस्टोको स्पिनमा नाच्न थाले । बाँकी १० ओभरमा पोखराले ३८ रन मात्रै जोड्न सक्यो ।
बोसिस्टोले आफ्नो पहिलो ओभरमा नै पोखराका कप्तान कुशल भुर्तेललाई शिकार बनाए । ओभरको दोस्रो बलमा छक्का हानेका भुर्तेलले पाचौं बलमा बोसिस्टोलाई नै क्याच थमाउन पुगे । खराब फर्मबाट गुज्रिरहेका भुर्तेल आज पनि १० रनमै आउट भए ।
१२ औं ओभरमा बोसिस्टोले म्याट क्रिच्लेलाई पेभिलियन फर्काए । बेलायती अलराउन्डर क्रिच्लेले ९ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । चौंथो ओभरमा बोसिस्टोले तीन विकेट थप्दै पोखराको ब्याटिङ तहसनहस बनाइदिए ।
यो ओभरमा उनले दिलिप नाथ, मिचेल लिस्क र नारायण जोशीलाई आफ्नो स्पिनको जालमा पारेका थिए । १६ औं ओभरमा फेरि उनले आफ्नो खातामा एक विकेट थपे । क्रिजमा एक्लै संघर्ष गरिरहेका रेमोन रिफरलाई उनले २० रनमा क्याचआउट गराए ।
बोसिस्टोको स्पेल सकिँदा पोखरा एभेन्जर्स १६ ओभरमा १०२ रन जोड्दा ८ विकेटको दयनीय अवस्थामा पुगेको थियो । उनले ६ विकेट लिनका लागि २६ रन खर्चिएका थिए ।
एनपीएलमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट बलिङ आँकडा हो । योभन्दा अगाडि चितवन राइनोजका पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर, जनकपुर बोल्ट्सका हर्ष ठाकर र सुदुरपश्चिमका नरेन साउदले एकै खेलमा पाँच विकेट लिएका छन् ।
बोसिस्टो योभन्दा अगाडि दुईवटा खेलमा खासै चल्न सकेका थिएनन् । चितवन राइनोजविरुद्ध २ ओभरमा १७ रन खर्चेर विकेटविहीन रहेका थिए । विराटनगरविरुद्ध ४ ओभरमा २१ रन खर्चेर एक विकेट लिएका थिए भने २९ बलमा ६६ रन हान्दै म्यान अफ द म्याच भएका थिए ।
टि २० म्याचमा कुनै पनि बलरले एक्लै ६ विकेट लिनु दुर्लभ मानिन्छ । इन्डियन पिमियर लिगमा हालसम्म ४ जना बलरहरुले मात्रै एक म्याचमा ६ विकेट लिएका छन्, जसमध्ये एनपीएलमा खेलिरहेका सोहल तनवीर पनि एक हुन् ।
को हुन् विलियम बोसिस्टो ?
३१ वर्षीय अष्ट्रेलियन अलराउन्डर विलियम गिल्स बाेसिस्टो कर्णालीले खरिद गरेका छैटौं विदेशी खेलाडी हुन् । एनपीएल सुरु भइसकेपछि केही दिन अगाडि मात्रै कर्णालीले उनलाई अनुबन्ध गरेको थियो । कर्णालीका पहिलो दुई खेलमा उनी थिएनन् । शिखर धवनले ४ वटा खेल मात्रै खेल्ने भएपछि कर्णालीले अतिरिक्त विदेशी खेलाडीका रुपमा बाेसिस्टोलाई भित्र्याएको हो ।
दायाँ हाते लेग ब्रेक बलिङ गर्ने बाेसिस्टो विगतमा अष्ट्रेलियाको यू १९ टीमका कप्तान थिए । सन् २०१२ को यु १९ विश्वकपमा उनले अष्ट्रेलियाको नेतृत्व गरेका थिए । सो विश्वकपमा उनी म्यान अफ द टुर्नामेन्टसमेत भएका थिए, जहाँ उनले ६ खेलमा २७६ रन जोडे । फाइनलमा भारतविरुद्ध अविजित ८७ रन हान्दै उनले अष्ट्रेलियालाई उपाधि दिलाए ।
बोसिस्टाेले सन् २०१२–१३ मा आयोजित रियोबी वान डे कपबाट लिस्ट एमा डेब्यू गरेका थिए । हालसम्म १४ लिस्ट ए म्याचमा उनले ३८० रन बनाएका छन् भने ५ इनिङमा बलिङ गर्दा एक विकेट मात्र लिएका छन् ।
११ टि २० म्याच खेलेका बाेसिस्टोको उच्च स्कोर ३६ रन मात्र छ । उनले बिग ब्यास लिग पनि खेलेका छन्, जहाँ ११ म्याच खेल्दा एक विकेट मात्र हासिल गरेको र १०२ रन जोडेको क्रिकइन्फोको आँकडामा उल्लेख छ ।

Leave a Reply