४ दिने भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता, कुन कुन विषयमा भयो छलफल ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्केका छन् ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा मंसिर १७ र १८ गते भएको दुई दिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन मन्त्री गएका थिए ।

मन्त्री भण्डारीले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइ, भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारी लगायतसँग भेटवार्ता गरेका थिए ।

चौथाइसँगको भेटका क्रममा मन्त्रीले दुई देश बीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गरेका छन् । भारतीय विदेश मन्त्रीसँगको भेटमा बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नु परेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

यस्तै मन्त्री भण्डारीले समकक्षीसँगको भेटवार्तामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आयातमा सहजता, नेपालबाट निर्यात हुने वस्तुमा लगाइएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) मा सहजीकरण, सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइप लाइन निर्माण, सर्लाहीमा एलपी ग्यासको पाइप लाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात बढाउने, भारतीय लगानी नेपालमा बढाउनेलगायत विषयमा छलफल तथा कुराकानी भएको छ । कञ्चनपुरको बेलौरी नाका सञ्चालनका विषयमा पनि छलफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *