चितवनमा रवि लामिछानेसँग १२ घण्टा साेधपुछ, बयानकक्षमा नै बिहान-बेलुकीकाे खाना

चितवन । साहरा सहकारीको रकम हिनामिनाको आरोपमा चितवन ल्याइएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान ८ बजे रवि लामिछानेलाई लगिएको थियो । अहिले बेलुका ८ बजेसम्म अर्थात् १२ घण्टा बिताएर बयान सकिएको हो । चितवनका जिल्ला न्यायाधीवक्ता शान्तीप्रसाद लुईँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डिएसपी ज्ञानकुमार महतोले उनको बयान लिएका हुन् ।

बयान आजै सकाउने तयारी गरिएकोले रवि लामिछानेलाई बिहान र बेलुकाको खाना पनि बयान कक्षमा नै खुवाइएको थियो । त्यसबाहेक दिनभर लगाएर हिजो सोधिएको सहित ७४ वटा प्रश्नको जवाफ लामिछानेले बयानमा दिएका थिए ।

बयानका क्रममा सौहार्दरुपमा प्रस्तुत भएका लामिछाने कतिपय प्रश्नको जवाफमा भने अल्मलिएकाे स्राेतकाे दावी छ ।

स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रश्नका क्रममा श्रीमतीको नाममा बढी गएको रकमको प्रश्नमा उनले दिएको जवाफ काठमाडौँमा दिएकोसँग बाझिएपछि उनले काठमाडौँमा दिएको बयान हेरेर सच्याएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण देखाउँदै गरेको कतिपय प्रश्नमा उनले आफूलाई थाहा नभएकाे बताएका छन् ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार लामिछानेले कतिपय प्रश्नमा संसदीय समितिमा जवाफ दिइसकेको भनेर टारेका छन् ।

हिजो र आज गरेर चितवनमा बयान सकिएलगत्तै लामिछानेलाई वीरगञ्ज लैजाने तयारी गरिएको छ । यद्यपि प्रहरीले भने आजै वीरगञ्ज पठाउने नपठाउने निर्णय नभएको बताएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले वीरगञ्जमा पक्राउ पुर्जी जारी भएको जानकारी भएपनि राति नै पठाउने नपठाउने विषयमा भने कुनै निर्णय नभएको बताए ।

Comments

2 responses to “चितवनमा रवि लामिछानेसँग १२ घण्टा साेधपुछ, बयानकक्षमा नै बिहान-बेलुकीकाे खाना”

  1. Shiva shrestha Avatar

    यो नजीरले भोलिका दिनमा कुनै पनि पार्टीका भ्रष्ट नेता उम्कन पाउने छैनन्।

  2. Bhushan Roka Avatar
    Bhushan Roka

    यिनीहरु काम देशकाे उन्नति प्रगतिलाई थाती राखि देश बर्बाद र माहा भ्रष्टाचारीलाई पालन पाेशण गर्ननै बित्याे। रविनै त्याे ब्यक्ति हाे देशका सम्पुर्ण सहकारी उनैले ठगि धन्दा गरेका हुन । साँचै देशमा कानुन छ भने र सहि बिधिवत नियम लागू हुने हने भने सांन्सदमा बिधामन आधा भन्दा बडी सांसदहरू जेलमा सढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *