यातायात कार्यालयको सेवा विस्तार गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

रूपन्देही । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ ।

बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी बताए ।

बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।

संशोधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारी भित्र पर्ने छ । प्रदेश, स्थानीय सरकार र किसानहरुको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो भने सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदको जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । जसले गर्दा मन्त्रिपरिषद् बैठकले बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *