रविलाई भाेलि पनि काठमाडौं ल्याउने सम्भावना कम, यस्ताे छ कारण

काठमाडाैं । सहकारी ठगी मुद्दामा अनुसन्धानरत रास्वपा सभापति रवि लामिछानेलाई बुधबार पनि काठमाडौं ल्याइने सम्भावना कम रहेको प्रहरी स्रोतले जनाएको छ ।

बयानका निम्ति उनलाई काठमाडौं ल्याइने हल्लाले मंगलबार ठूलै रुप लियो । उनको पार्टीका काठमाडौंस्थित कार्यकर्ता न्यायको माग गर्दै सडकमै ओर्लिए । तर, रवि काठमाडौं ल्याइएनन् । कास्की प्रहरी स्रोत भन्छ, ‘काठमाडौंका एसएसपी सा’ब छुट्टीमा हुनुहुन्छ, त्यसैले आज पठाएनौं ।’

कास्की प्रहरीका एक अधिकृतका अनुसार रविलाई काठमाडौं ल्याउनुपर्ने विषय हो, कमपा– १४ स्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा उनको संलग्नताबारे अनुसन्धान गर्नु । अर्थात्, उनलाई काठमाडौं पठाउने, नपठाउने कुरा त्यहीँको प्रहरी नेतृत्वको अनुकूलता हेरेर गर्ने हो । यसमा कास्की प्रहरीको चाहना निर्णायक हुँदैन । त्यसैले उनी मंगलबार कास्कीबाट काठमाडौं पठाइएनन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे आइतबारदेखि नै छुट्टीमा छन् । उनले नेपाल प्रेसलाई बताएअनुसार आमा विरामी भएका कारण उनी अझै दुई दिन कार्यालयमा हाजिर हुँदैनन् ।

उनको अनुपस्थितिमा जिल्ला प्रहरी काठमाडौंको चार्ज एसपी नवराज अधिकारीले बुझेका छन् । तर, सहकारी ठगी संवेदनशील मुद्दा भएका कारण त्यसको अभियोजनकार्य कार्यालय प्रमुखको अनुपस्थितमा नगर्नु भन्ने संगठनको माथिल्लो निकायको निर्देशन रहेको प्रहरी स्रोत बताउँछ ।

काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘हाम्रो कार्यालय प्रमुखले भनेपछि मात्रै कास्कीले पठाउने हो ।’

जिल्ला अदालत कास्कीले रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ, काठमाडौंमा त मुद्दामात्रै दर्ता छ । अदालतमा पेश गरेर अनुसन्धानको म्याद माग भएको छैन । ‘हतार गर्नुपर्ने कारण छैन, कुनै दिन ल्याएर बयान लिँदा हुन्छ’, काठमाडौं प्रहरीका ती अधिकृतले बताए ।

Comments

One response to “रविलाई भाेलि पनि काठमाडौं ल्याउने सम्भावना कम, यस्ताे छ कारण”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    ठगको अनुहारमा लाज र डर हुँदैन भन्ने सुनेको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *