अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् ।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् । एसका स्थानीय नेताले मेयरको उम्मेदवारी निष्क्रिय गर्दा वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्ट पनि निष्क्रिय हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको घोषणा स्वीकार गरेको थिएन । त्यहाँ एसले रीता खड्कालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल हुँदा प्रचण्डले आफूले निर्देशन दिँदा पनि वडाध्यक्षको उम्मेदवार विष्टले निष्क्रिय हुन नचाहेको बताए ।

‘पहिला वडाध्यक्ष छोड्ने नै कुरा थियो, पछि कम्युनिकेशन ग्याप भएर कमजोरी भयो’, वार्तामा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलबी श्रेष्ठले बताए ।

‘दुई पार्टीको शीर्ष तहबाट निर्देशन भएपछि हामी त्यसलाई पालना गर्छौं’, श्रेष्ठले भने, ‘वडाध्यक्ष निष्क्रिय नपारेर माओवादीका साथीहरूले राम्रो गर्नुभएन ।’

मंगलबारको वार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेशसभा सदस्य रमा आले, जिल्ला अध्यक्ष श्रेष्ठ र युवा नेता नितेश पौडेल थिए ।

Comments

One response to “अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन”

  1. ksp pyl Avatar
    ksp pyl

    एस भनेको पार्टी नै होईन नि । प्रचण्डको खेताला । पैसा लिएर काम गरिदिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *