रास्वपा नेता कार्यकर्ताबाट अदालतको अवहेलना विरुद्धको मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनसँगै सम्बन्धित कागजात र प्रमाण पेश गर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका नेताले कानूनी प्रक्रियामा प्रभाव पर्नेगरी पोखरामा प्रदर्शन गरेका थिए । पार्टी सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाब दिँदै आन्दोलन गरेका थिए ।

त्यसैविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त निवेदनको मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण र कागजात पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार एवम् प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले गत कात्तिक २७ मा रास्वपाका सभापति लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै त्यससम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *