पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलकाे निर्णय

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।

अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सो प्रकरणमा तीन जना फरार छन् ।

अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को सात दिने कार्यक्रममा भाग लिन कात्तिक ११ गते जापान गएका थिए । कार्यक्रममा लैजाने चाँजोपाँजो मिलाएकाले उनीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापान पठाएपछि अधिकारीकै सूचनाका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीले नै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । प्रहरीले भने अधिकारीसहित १२ जनालाई तीन वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो ।

जापान पुगेका ३ जनालाई कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । पूर्वमन्त्री अधिकारीलाई भने कात्तिक २५ गते पक्राउ गरिएको थियो । प्रहरीले मन्त्रीसँगै जापान पुगेका खोटाङको केपिलासगढी गाउँपालिका- ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका- ५ का २१ वर्षीय कञ्चन देवकोटालाई पक्राउ गरेपछि थप ३ जनालाई पक्राउ गरेको थियो ।

अधिकारीसँग मिसाएर जापन पठाएको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका- ७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका- ९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई पक्राउ गरिएको थियो । पक्राउपछि जापान प्रकरणमा उनीहरुको पनि संलग्नता खुलेको थियो । अनुसन्धानका क्रममा थप २ जनाको पनि संलग्नता खुलेको थियो ।

प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ । विष्णु भट्टराई, दिवाकर भट्टराई र गौपाल गौतम फरार छन् । गौतमले नै अधिकारीको पासपोर्टलगायतको कागजात लगेका थिए ।

जापान जाने बेला दिवाकरले पासापोर्टलगायतका कागजात दिएको अधिकारीले बताएका छन् । उनीहरुलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको छ।

Comments

One response to “पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलकाे निर्णय”

  1. RA Avatar
    RA

    Hoina Rabi mali matra Chalunu parcha Bhrastachari Sarkar

Leave a Reply

Your email address will not be published. Required fields are marked *