गाैरीघाटमा यसरी हुँदैछ छठकाे तयारी (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ । छठमा घर जान नपाउने महिला पुरुषहरु काठमाडौंको पोखरीमा नै छठ मनाउँछन् ।

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ ।
यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।
घाट निर्माणका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि  एक हजार एक सय समितिले शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो ।

गौरीघाट, गुहेश्वरी, गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ । ४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ ।

ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ ।

यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । छठको पहिलो दिन‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।आज साझँसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।

गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ति एवं छठी माताको मूर्ति राख्ने काम जारी रहेको उनले बताए । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *