वर्षाका कारण स्कटल्यान्डसँगको खेल रद्द, एक अंक पाएको नेपाल कहाँ छ ?

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ।

टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि स्थगित भएको खेल फेरी सुरु हुन सकेन।

शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो। यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो। घरेलु टोलीसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो।

१२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। आठौँ तथा अन्तिम स्थानमा रहेको युएईको ९ खेलबाट ४ अंक छ। १२ खेलपछि अमेरिका र क्यानडा दुवैको समान १६ अंक छ।

११ खेल खेलेको स्कटल्यान्डको १४ अंक रहेको छ। नेदरल्यान्ड्सको ९ खेलबाट १२ र नामिबियाको १२ खेलबाट १० अंक छ। ओमानको ९ खेलबाट ८ अंक छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *