प्रधानमन्त्री ओलीको प्रश्न- कुन पार्टीका कार्यालय चन्दा नलिइ बनेका छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सिस्नुपानी नेपालको देउसी भैलो टिमले नेकपा (एमाले) पार्टी कार्यालयका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि जग्गा दान गरेको विषयलाई देउसी भैलोमार्फत व्यंग्य गरेपछि उनले प्रतिक्रिया दिँदै यस्तो प्रश्न गरेका हुन् ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छन् मलाई देखाइदिनुस न ? एमालेको पार्टी कार्यालय बनाउन एक जना व्यक्तिले दान गर्न खोज्नुभयो होला । तर, अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो नि ? किन व्यग्य गरिरहनुपर्यो र ?’

उनले सिस्नोपानी नेपालले सन्तुलन मिलाएर व्यंग्य गर्नुपर्ने भए पनि आफुलाई नै बढी व्यग्य गरेकोमा पनि असन्तुष्टि जनाए ।

उनले भने, ‘सायद यो कार्यक्रममा आयोजकले सन्तुलन मिलाएर बोलाउनुभएको होल । देउसी भैलोमा व्यग्य पनि सन्तुलन मिलाएर गर्नुपर्ने हो । तर, मलाई नै व्यग्य बढी गरियो । उनले देउसी भैलोमा निराशाजनक मात्रै नभएर सरकारले गरेका आशालाग्दा विषय तथा व्यग्य पनि समेटन्पर्ने सुझाव दिएका छन् ।’

उनले थप्दै भने, ‘देउसी भैलोमा सारा बिग्रीसक्यो केहि बाकी रहेन भने जसरी प्रस्तुत गरियो । यो देशमा नराम्रो मात्रै भएको छैन, धेरै राम्रा काम पनि भएका छन् । देउसी भैलोमा राम्रा विषय तथा काम पनि समेट्दा राम्रो हुन्थ्यो होला ।’

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवम नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिंदेन, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

Comments

One response to “प्रधानमन्त्री ओलीको प्रश्न- कुन पार्टीका कार्यालय चन्दा नलिइ बनेका छन् ?”

  1. Laleek Avatar
    Laleek

    के यो गाईजात्रा कार्यक्रम हो ? बेकारमा समय वर्वाद गरेर जानू प्र. म. ज्यू सुईको लिई मात्र यस्ता ठाउँमा नजाओैँ, सचेत रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *