ज्ञानेन्द्र शाहीमाथि खनिए माओवादी सांसद, सिन्जा विधेयक आफूले लेखेको भनेर झूटाे प्रचार गरेकाे आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सिञ्जा विधेयक आफैंले लेखेको दाबी गरेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् ।

कात्तिक १० मा जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको जनसभामा प्रतिनिधि सभा सदस्यसमेत रहेका राप्रपाका प्रमुख सचेतक शाहीले आफूले उक्त विधेयक लेखेको बताएका थिए । नेकपा (माओवादी केन्द्र)का वर्तमान र पूर्व सांसदले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै आगामी दिनमा बोल्दा हजार पटक सोचेर मात्रै बोल्न चेतावनीसमेत दिएका छन् ।

माओवादीबाट प्रतिनिधि सभा सदस्य छिरिङल्हामु लामाले राप्रपाका सांसद शाहीलाई विधेयकको ‘बि’ पनि थाहा नपाउनेले सिञ्जा सभ्यता विधेयक आफूले लेखेको भनेर दाबी गर्दा लाज पनि लजाएको टिप्पणी गरिन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘विधेयकको बि थाहा नपाउनेले सिजा सभ्यता विधेयक मैले लेखेको हुँ रे । हैट लाज पनि लजाउने काम नगरौँ मान्यज्यु । हुन त तिम्रो रोजीरोटीको सवाल छ, तिम्रो युट्युब पनि त चलाउनुपर्यो । यति नगरी डलर कसरी कमाउने ? यस्तै झुटा कुरा गरेर जनतालाई ठूलो भ्रमको छानोमा राखेर कठै हाम्रा सोझा जनताबाट असुलेको मत त हो । ६ महिने सिएपी तालिमलाई सीए पास गरेको छु भन्नेले ठूला गफ नदिएकै राम्रो । तिम्रो क्षमताको यतिबेलै बुझिसकेका थियौ । तिम्रो हविगत देखिसकेको छ ।’

माओवादी सांसद लामाले सधैंभरी जनतालाई झुक्याउन नसकिने भन्दै आगामी दिनमा बोल्नुभन्दा पहिला हजार पटक सोचविचार गरेर मात्रै बोल्न सामाजिक सञ्जालबाटै खवरदारी गरेकी छन् ।

उनले लेखेकी छन्, ‘जुम्ली जनता अब तिम्रा बाकम्फुसे हावादारी गफमा पत्याएर झुक्किने वाला छैन । माओवादीको नेतृत्वमा सरकार, माओवादीको प्रधानमन्त्री, माओवादीको अर्थमन्त्री र जिल्लाबाट पहल गर्ने माओवादीको तर्फबाट सांसद म । हाम्रो पहलमा जति पनि योजना भित्रियो जिल्लामा सबै आफूले गरेको हुँ मैले थर्काउँदै ल्याएको हो, मैले गाली गर्दै ल्याएको हुँ भनेर जनतामा भ्रम छर्ने तिमी जस्तालाई हामीले राम्रोसँग चिनिसकेका छौ र कुन हदसम्मको हावा बोल्छौ भन्ने कुरा यसको जीवित साक्षी म हुँ । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको यो व्यवस्था भित्रको सुन्दर पक्षबाट जन्मेको सांसद हुँ । तिमी जस्तो ढाँटेर छलेर आएको होइन, हेक्का रहोस् । खबरदार, आइन्दा बोल्नुभन्दा पहिला हजारपल्ट सोचविचार गर्नु । तिम्रो हावा तालको भाषण अब बढी हुँदैछ ।’

यस्तै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले पनि शाहीले राप्रपाको जनसभामा झुटको पुलिन्दा छताछुल्ल पारेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुम्लाका लागि शाहीले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ज्ञानबहादुरजी, कात्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिँदै जनता माझ तपाइले झुटका पुलिन्दा छताछुल्ल पार्नु भएछ । सिन्जा सभ्यता बिधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुटप्रति ध्यानाकर्षण भएको छ । जुम्लाका लागि तपाइले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुटको सहारा लिनु पर्ने बाध्यतालाई न सत्यले मान्यता दिन्छ न त जनताले । सत्यसँग जति अनुनय बिनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।’

भण्डारीका अनुसार विधेयक निर्माणका क्रममा शाही अभियन्ता रहेका बेला उनलाई पनि पठाइएकाे थियाे ।  शाहीले केवल ‘धन्यवाद’ लेखेर जवाफ फर्काएका थिए । तर, त्यसैलाई विधेयक लेखेको मान्ने हो भने आत्मरतिमा रमाउनु बाहेक केही नभएको बताएका छन् ।

उनले थप लेखेका छन्, ‘हेक्का होस, हाम्रै अवधारणाबाट निर्देशित भएर अधिवक्ता रत्नबहादुर बुढाको सहयोगमा बिधेयकको प्रारम्भिक मस्यौदा तयार भएको हो । विधेयकको मस्यौदा लेखनमा तपाई‌को कुनै भुमिका छैन । २०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाई अभियान्ता हुँदा सिन्जाको बासिन्दा भएकाले मैले सुझावका लागि मेलमा विधेयक पठाएको थिएँ । तर, तपाईबाट धन्यवाद आयो, सुझाव आएन । धन्यवादलाई विधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाइको दाबीलाई सत्य ठान्नु पर्ने हुन्छ । वास्तविकता भन्दा कैयौं कोष टाढाबाट सत्यको दाबी गर्नु र असत्यको जगमा उभिएर प्रतिक्रिया दिनु क्षणिक आत्मरति सिवाय केही हुन सक्दैन ।’

जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको जनसभामामा ज्ञानेन्द्र शाहीले के भनेका थिए ?

हाम्रो पूर्वप्रधानमन्त्रीज्यूले आएर पनि भन्नुभएछ, सिञ्जा सभ्यता विधेयक मैले राखेको छु भन्नुभएको छ । म पूर्वप्रधानमन्त्रीज्यूलाई जुम्लाबाट के भन्न चाहन्छु भने विधेयक ल्याउने प्रधानमन्त्रीले हो । तपाई प्रधानमन्त्री हुँदै त्यो विधेयक गएको हो भने संसदमा किन ल्याउनुभएन ? जुम्लामा आएर झुटो कुरा किन गर्नुभयो ? तपाईले छलफलमा ल्यादिने हो नि त । अब अर्को कुरा, म जुम्लाको सांसद हो । यहाँ कुनै विधेयक ल्याउनुपर्यो ज्ञानेन्द्र शाहीको कोठामा आउने हो कि प्रचण्डको कोठामा जाने हो ? खै नरेश भण्डारीजी मेरो कोठामा आएको ? म त सांसद हो त । जनताले जिताएका हुन त गाठे । समानुपातिक त होइन क्यारे ।

नरेशजीभन्दा बढी नै भोट ल्याएको हो मैले । हतियार देखाएर पनि ल्याएको होइन ।  जनमतले ल्याएको हो । सिञ्जा सभ्यता विधेयक लेख्दाखेरी मैले लेखेको हो । मैले र नरेशजीले लेखेको हो । अहिले पनि म फेसबुकमा देखाइदिन सक्छु । उहाँले लेख्दाखेरी मसँग सहयोग माग्नुभएको थियो । धन्यवाद भनेँ  । मैले लेखेर पनि पठाएँ । जव जुम्लाबाट ज्ञानेन्द्र शाहीले चुनाव जित्यो, मुटुबाट भित्र आगो बल्यो ।

अनि त्यो विधेयक उहाँले प्रचण्डकहाँ जानु अघि जुम्लाको सांसदलाई दिनुपर्ला । अझ त्यसभन्दा पनि सिञ्जाकै मान्छेलाई दिनुपर्ला नि । आएन कोही पनि मेरो कोठामा, प्रचण्डको घरमा गए । अनि त्यहीँ गएर फोटो खिचाए खिचिक्क पारेर । म आज भन्न चाहन्छु, सिञ्जा विधेयक कतिखेर पारित गर्नुपर्छ थाहा छ ? उहाँ प्रदेश सरकारको कानून मन्त्री हुनुहुन्थ्यो । उहाँको पार्टीको नेता महेन्द्रबहादुर शाही प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँको पार्टीको बहुमत थियो । त्यतिखेर सिञ्जा विधेयक पारित गरेको भए त टन्टै साफ हुने थियो नि । यहाँ गाउँमा आएर नाटक गर्नुपर्दैन थियो नि त ।

किन नगरेको त्यतिखेर ? यो के हो भने पछिल्लोपटक सिञ्जाका जनताको भोट पाउँला भनेर गरेको नयाँ स्टन्ट भन्छु म यसलाई । तर, म समर्थन गर्छु, म सिञ्जा सभ्यता विधेयककाे ।  हाम्रो पार्टी सरकारमा गयो भने, त्यो विधेयककाे मस्यौदामा धेरै त्रुटी छ । त्यसलाई सुधार गरेर यहाँको खस सभ्यता र प्रकृतिलाई राखेर पुर्ण बनाउँछु । अनि सभ्यता विधेयक सभ्यता जोगाउनेले गर्ने हो ।

धामीका घाँटी काट्ने मान्छेले होइन । नेपालको सिञ्जा सभ्यता दुई ठाउँमा होइन । एउटा सिञ्जामा र अर्को दैलेखको दुल्लुमा । दुल्लुमा पनि कुनै नामनिसाना छैन । यहाँ पनि मान्छेका घाँटी काटिए । अनि घाँटी काट्ने सभ्यता संस्कृति, धर्म, संस्कार मान्य हुँदैन भन्ने साथीहरुले भनेको सुन्दा मेरो आँखाबाट हाँसो र गोहीको आँशु जस्तो लाग्छ । त्यो भएको हुनाले म अहिले भन्छु, सिञ्जा सभ्यता विधेयकमा धेरै त्रुटी छन्, त्यसलाई सुधार्नुपर्छ हामीले ।

अझै त्यसलाई पुर्नलेखन गर्नुपर्छ । तर, त्यो चाहीँ जुम्लाका सांसदका घरमा आउने हो है । चित्त बुझेन भने आउने हो । के चित्त बुझेको छैन होला कोही कसैलाई । अब भएपछि त जानुपर्यो होइन र । अब मलाई चित्त बुझेन भनेर माओवादीको गाउँपालिका अध्यक्षको घरमा नगएर हुन्छ त ?

 

Comments

One response to “ज्ञानेन्द्र शाहीमाथि खनिए माओवादी सांसद, सिन्जा विधेयक आफूले लेखेको भनेर झूटाे प्रचार गरेकाे आरोप”

  1. Hrishikesh Bhattarai Avatar
    Hrishikesh Bhattarai

    लु ! CA पढालिखा मान्यज्यू लाई JPT भन्न मिल्दैन थियो । भनि हालेछन् । अब छुटेको गोली र बोलिएको बोली फिर्ता हुन्न । अब मान्यज्यूले चित्त बुझाउनु । आफै विधेयक लेख्ने अनि अपूर्ण छ भन्ने मिल्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *