अस्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनायो तिहार

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिवबहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसीभैलो कार्यक्रम भएको छ ।

समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक उमेश उपाध्याय, बालकृष्ण बस्याल, ई.राम कोइराला, आशिष भेटवाल, डा. राजु मानन्धर, ई.जीतेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, नेत्रप्रसाद पौडेललगायतले कविता तथा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कवि शिवबहादुर श्रेष्ठको ‘उपहार’ पुस्तक त्रिविका पूर्वउपकुलपति भुसाल, प्रा. उपाध्याय र संस्थाका अध्यक्ष डा. प्रकाश पौडेलले संयुक्त रूपमा विमोचन गरेका थिए ।

सो अवसरमा बाल साहित्यकार आयाम घिमिरेले कविता र रेवा शाहले सारङ्गी प्रस्तुत गरेका थिए । उनीहरु दुवैलाई यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुअल कार्यक्रममा पुरस्कृत भएकोमा आजै पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. शिव भुसाल र वरिष्ठ पत्रकार डीआर घिमिरेलाई सम्मान गरिएको थियो ।

एनआरएनएका अध्यक्ष अनिल पोख्रेलले संस्थाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिने नीति राखेको जानकारी गराउँदै आगामी दिनमा थप सृजनात्मक काम गर्न नेपाली समुदायलाई आग्रह गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *