उपनिर्वाचनका उम्मेदवारको निर्वाचन खर्चको सीमा तोकियो, कसले कति गर्न पाउने ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन खर्चको सीमा तोकिकएको छ । आयोगले २ दिन अघि बसेको बैठकले खर्चको हद निर्धारण गरेको आयोगले जनाएको हो ।

स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन तथा स्थानीय तह निर्वाचन नियमावली, बमोजिम उम्मेद्‍वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्‍वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ४ लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको प्रवक्ता सापकोटाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *