राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपति विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पाैडेल भेट्नुलाई अर्थपूर्ण मानिएकाे छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेकाे बेला राष्ट्रपति पाैडेलसँग विपक्षी दलहरुले भेटेका हुन् ।

विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

 

Comments

One response to “राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट”

  1. ksp pyl Avatar
    ksp pyl

    यी नैतिकहिनहरू एमालेलाई फुटाउने बेलामा उफ्रि उफ्रि हिडने अहिले रूँदै रूँदै ढोका ढोका चाहार्न हिडने । यस्ता अनैतिकहरूले देश चलाएमा के होला ? यी दक्षिणका टटु्हरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *