डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मृगौलामा समस्या भै नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए।

नियमित डायलासिस गर्ने विपन्न नागरिकले अधिकतम लाभ लिउन भन्ने उद्देश्यले कार्यक्रम लागू गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

‘खासगरी बिपन्न नागरिक लाभान्वित होउन भन्ने उद्देश्य हो यद्यपि डायलासिस गर्नुपर्ने अन्य नगरबासीले पनि यो सेवा लिनसक्नु हुनेछ ‘नगरप्रमुख श्रेष्ठले भने ।

गौतमबुद्ध अस्पतालले बिरामीहरुको आउजाउका लागि अस्पतालकै बस संचालन गरेको र बर्दघाटबाट सेवा लिने बिरामीहरुको दोहोरो बस भाडा नगरपालिकाले बेहोर्ने गरी ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

नगरपालिकाले नगरबासीका लागि मोतियाबिन्दुको शल्यक्रियासमेत निःशुल्क गरेको छ । सदरमुकाम परासीमा रहेको बिनोत निता कंडेल आँखा अस्पताल सँग नगरपालिकाले ५ लाख रकमको सम्झौता गरेको छ ।

अघिल्लो आर्थिक बर्षमा पनि १ सय २६ जना नगरबासीले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा लिएका थिए । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस उपकरण राख्ने प्रयास भैरहेको र कार्यापालिकाले निर्णय गरि मन्त्रालयमा फाईल अघि बढाउने तयारी भैरहेको नगरप्रमुख श्रेष्ठले जनाए ।

केही दिन अघि मात्रै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त अस्पतालको निरीक्षण गरी कार्यपालिकाको निर्णयसहित मन्त्रालयमा फाइल पठाउन अनुरोध गर्दै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *