रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

काठमाडौं । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।

उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने जाहेरी दर्ता भइनसकेको नेपाल प्रेससँग बताए ।

उनले जाहेरी पेश भएको भए पनि दर्ता भइनसकेको र कोही कसैलाई पक्राउ तथा नियन्त्रणमा लिन कोहीकसैले जाहेरी दर्ता गर्न जरुरी नभएको भन्दै प्रहरीले कानून उल्लंघन गर्ने जोसुकैलाई जतिबेला पनि नियन्त्रणमा लिनसक्ने बताए ।

Comments

3 responses to “रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कांग्रेस को लौरो रहेछ यो!!

  2. Hira Lal Bajyu Avatar
    Hira Lal Bajyu

    सहकारी ठगी गरेको पैसा व्यवस्थापन गर्ने कुनै कर्मचारी मात्र हैन पार्ट्नर हो ठगको पार्ट्नर हो । चोर हरुको चोरी गर्ने योजना मा हरेक पार्ट्नरको आआफ्नै भुमिका हुन्छ एक चोरले चोर्ने अर्को चोरले चोरिको खरखजाना पैसा व्यवस्थापन गर्ने हुन्छ हो तेस्तै जिबी पनि ठग हो रबि पनि ठग हो यस्मा कुनै दुई मत छैन एक पार्ट्नर ले सहकारी ठगी गरेर पैसा ल्याए अर्को पार्ट्नर ले ठगी गरेर ल्याएको पैसा व्यवस्थापन गरे

  3. ksp pyl Avatar
    ksp pyl

    यस्ता बकम्फुस्सेको समाचार पनि के छापेको हो ? हाम्रो टोलमा एउटा ट्वाँके छ । त्यसले लगाएको बेलामा सबै नेतालाई अख्तियारमा उजुरी हाल्छु, जेल कोच्छु, भ्रष्टाचारी भन्दै छाडा शब्द पनि बोल्दै गर्छ । अनि सुन्नेले उसको नाम बोलाएर जथाभावी बोल्छस् ? भनेपछि लुरूक्क परेर नबोलि घरतिर लाग्छ । यसको पनि त्यस्तै लाग्यो । एकपटक मानसिक स्वास्थ्य जाँच गराउ मिस्टर । तिम्रोमा केही गडबडी हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *