यस्तो थियो प्रधानमन्त्री र विपक्षी नेताहरुबीच भएको चार बुँदे सवाल जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सोमवार राति बालुवाटारमा भएको विपक्षी दलका नेताहरूसँगको सवाल जवाफलाई जस्ताको त्यस्तै सार्वजनिक गरेका छन् ।

ज्ञापनपत्र बुझाउन गएका नेताहरूबाट विभिन्न भनाइ आएपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले चार बुँदे सवाल जवाफ सार्वजनिक गरेका हुन् ।

रिमालका अनुसार प्रधानमन्त्री र विपक्षी दलहरुबीच यस्तो कुराकानी भएको थियो ।

विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद

विपक्ष: पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?

प्रधानमन्त्री: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्ष: पूर्वाग्रह, तानाशाही… ?

प्रधानमन्त्री: अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्ष: राजनीति दलसम्बन्धी अध्यादेश… ?

प्रधानमन्त्री: विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्ष: विपद् र राहतको विषय…

प्रधानमन्त्री: मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।

Comments

One response to “यस्तो थियो प्रधानमन्त्री र विपक्षी नेताहरुबीच भएको चार बुँदे सवाल जवाफ”

  1. RA Avatar
    RA

    Yesto Hawa ta PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *