प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सरेको छ ।

प्रधानमन्त्री ओलीसहित विपक्षी दलको नेताहरुको कार्यव्यस्तताको कारणले ४ बजेका लागि तय भएको ज्ञापनपत्र बुझाउने कार्यक्रम ८ बजेलाई सारिएको हो ।

शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।

कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

आज जुम्ला पुगेका प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताएका थिए।

प्रचण्डले भनेका थिए ‘आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *