गन्धर्व समुदायको कथा भन्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

काठमाडाैं। यहीँ कात्तिक १५ गते बाट रिलिज हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलरमा गन्धर्व समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भन्छ ।

कार्यक्रममा उपस्थित चलचित्रको शीर्ष भूमिकामा रहेका विजय बरालले टिजरबाट आएको दर्शकको प्रतिक्रियाबाट आफु हौसिएको बताए। उनले भने,‘यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएको छु।’

त्यसै गरी कार्यक्रममा बोल्दै निर्देशक सरोज पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए । ‘हामीले टिजर, ट्रेलर र चलचित्रमा जे कुरा देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो। धेरैलाई आफ्नै कथाजस्तो लाग्छ सक्छ भने कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन सक्छ,’उनले सुनाए।

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् भने निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *