भिसा पर्खाइको व्यग्रताबीच सन्दीपको सांकेतिक स्टाटस

काठमाडौं । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एकदिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए । अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन । सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिकरुपमा पोखेका छन् ।

उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’

नेपाली टोली क्यानाडा प्रस्थान गर्नुअघि अमेरिकाको समेत भिसा लिएका थिए । त्यसबेला दूतावासले सन्दीपको भिसा आवेदनलाई ‘होल्ड’ मा राखेको थियो । सन्दीपले अमेरिकी दूतावासबाट पासपोर्ट फिर्ता लिएर क्यानाडा उडे । त्यहाँ नेपालले विश्वकप लिग २ र टि २० सिरिज खेलेको थियो ।

क्यानाडाको खेलहरू सकिएर नेपाली टीम अमेरिका लाग्यो भने सन्दीप नेपाल फर्किए । नेपाल आउँदा दशैँको बिदा भएकाले भीसाको प्रक्रिया अघि बढ्न सकेन । हिजोबाट दूतावास खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार सन्दीपले भीसा पाउने सम्भावना समाप्त भइसकेको छैन ।

स्रोतले भन्यो, ‘हामीलाई लाग्दैन कि यसपटक भिसा अस्वीकार गरिनेछ । अस्वीकार गर्नुपर्ने कुनै कारण नै छैन ।’

यसअघि सन्दीपको मुद्दा सर्वोच्च जान सक्ने कारण देखाएर दूतावासले अल्झाइरहेको थियो । तर, केही दिनअघि मात्रै महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको फैसलालाई चित्त बुझाएर सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय लिइसकेको छ । यससँगै सन्दीपको मुद्दाको फाइल पूर्णरुपमा बन्द भएकाले दूतावाससँग भीसा रोक्नुपर्ने कारण छैन ।

दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि केही दिनपछिको समय दिएको क्यान स्रोतले बतायो । अन्तर्वार्ताको डेट अगाडि सार्न प्रयास भइरहेको स्रोतको भनाइ छ ।

नेपालले अमेरिकामा पहिले त्रिकोणात्मक टी-२० सिरिज र त्यसपछि लिग २ को सिरिज खेल्ने तालिका छ । टी २० सिरिज स्थानीय समयअनुसार १७ अक्टोबर रातिबाट (नेपाली समयअनुसार पर्सी बिहान) सुरू हुन्छ । सन्दीप टी-२० सिरिजमा उपलब्ध हुन सकेनन् भने पनि लिग २ मा भने नेपाल उनलाई मिस गर्न चाहँदैन ।

Comments

2 responses to “भिसा पर्खाइको व्यग्रताबीच सन्दीपको सांकेतिक स्टाटस”

  1. कृष्ण गुरूंङ Avatar
    कृष्ण गुरूंङ

    बलात्कार जस्तो संगिन मुद्दा लागेको ब्याक्तिलाई बिदेशीहरू अलि संशयको दृस्टिले हेर्छन। देशै चोर डाका बलात्कारी भ्रस्टचारीले चलाएको छ के कुरा गर्नु र😨😨

  2. Amit shahi Avatar
    Amit shahi

    नेपाल सरकार ले अमेरिकी सरकार लाइ उच्च अदालत ले सन्दिप लामिछाने निर्दाेष छ र सफाइ पाएकाे प्रमाणित कागजात पत्रहरु उपलब्ध गराइ चांदाे भन्दा चाँडो भिसा उपलब्ध गराइदिनुप-ययाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *