समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’

एउटा गाउँ छ, जसको नाम हो ‘१२ गाउँ’ । यो गजेन्द्रको बुवाले बसाएको गाउँ हो । ‘१२ गाउँ’ मा अहिले गजेन्द्र (मुरलीधर)ले हुकुमी शासन चलाइरहेका छन् । गाउँमा गैरकानुनी रूपमा हुने गाँजा र अफिम खेतीमा उनको एकलौटी नियन्त्रण छ ।

गाउँलेहरू नजरबन्दको अवस्थामा छन् । उनीहरूलाई गाउँको सिमाना नाघेर बाहिर जान वर्जित गरिएको छ । यदि कोही गाउँले बाहिर जान कोसिस मात्रै गरेमा गजेन्द्रको हातबाट मारिनुपर्छ । वा कोही नयाँ मान्छे बाहिरबाट गाउँभित्र छिरेमा जिउँदो फर्कन असम्भव छ ।

यही गाउँमा कर्णेले गजेन्द्रविरुद्ध विद्रोह गर्छ । उ गाउँ छाडेर जाने निर्णय गर्छ । फलतः गजेन्द्रले कर्णेलाई मारिदिन्छ । कर्णेकी गर्भवती श्रीमतीको बच्चा जन्मनासाथ मारिदिने धम्की दिन्छ । त्यो बच्चा गजेन्द्रको हातबाट कसैगरी बच्छ । ठूलो भएपछि गजेन्द्रको क्रूरताविरुद्ध लड्छ । अहिले हलमा चलिरहेको ‘१२ गाउँ’ को मुल कथासार यही नै हो ।

यो चलचित्र शंकर (विराज भट्ट) र अजय (समीर भट्ट)को वरिपरि घुमेको छ । कुनै जमाना नेपाली चलचित्रका एक्सन स्टार बिराज भट्ट, जो पछि भोजपुरी चलचित्रतिर लागे, ले आफ्नो छोरा समीरलाई आफ्नो पदचिन्हमा हिँडाउने ध्येयले ‘१२ गाउँ’ को निर्माण र निर्देशन गरेका हुन् । चलचित्रमा आउनका लागि समीर आफैँले लामो तयारी गरेका थिए, जुन चलचित्रमा उनको काममा पोखिएको छ ।

‘१२ गाउँ’ बाट समीरले राम्रो सम्भावना देखाएका छन् । उनको एक्सन र डान्स उम्दा छ । अभिनयमा पनि मिहिनेत गरेका छन् । समग्रमा एउटा ‘हिरो प्याकेज’ का रूपमा उनी उदाएका छन् । तर निर्देशक बुवा बिराज भट्टले छोरामा भएको क्षमता र सम्भावनालाई न्याय गर्न सकेनन् । दक्षिण भारतीय चलचित्रको अन्धनक्कल गर्दै उनले एउटा ‘सी ग्रेड’को चलचित्र दिएका छन्, जसमा समीरलाई बिर्सिने हो भने अरू सम्झिन लायक खासै केही पनि छैन ।

गजेन्द्रको क्रूरताबाट सुरु भएको फिल्मले गज्जबले कथा भन्ला कि जस्तो लाग्छ दर्शकलाई । तर, कथा बिस्तारै गोलमटोल र हास्यास्पद बन्दै जान्छ । क्लाइमेक्समा पुग्दासम्म दर्शक दिक्क भइसक्छन् ।

सबैभन्दा पहिलो कुरा त, ‘१२ गाउँ’ को परिवेश नै अपत्यारिलो छ । चलचित्रको कथावस्तुमा अहिलेकै समसामयिक विषयहरू छन् । तर आजको समयमा नेपालको कुन गाउँ होला, जहाँ एउटा व्यक्तिको एकाधिकार चल्छ ? ‘१२ गाउँ’ भित्र संविधान–कानूनको अस्तित्व किन भएन, प्रहरी जानसमेत डराउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको उत्तर चलचित्रमा भटिँदैन ।

दुई दशकअघि आफैँले खेलेका फिल्महरूका कथा वाचन शैलीलाई बिराजले ‘१२ गाउँ’ मा थोपरेका छन् । चलचित्रमा गाउँको मुखिया भिलेन हुन्छ, जसको वरिपरि गुण्डाहरु हुन्छन् । भिलेनको विरुद्ध उभिन्छ एउटा सुगठित ज्यानको हिरो । अनि दुईबीच संघर्ष हुन्छ । अन्त्यमा हिरोको जित । भारतीय फिल्मबाट आयातित यो फर्मुला नेपाली चलचित्रले त्यागेको धेरै भइसक्यो । दर्शकको स्वाद पनि फेरिइसकेको छ । तर, बिराज पुरानै धङधङीमा छन् ।

हिरोइन समस्यामा पर्दा हिरोको इन्ट्री हुन्छ । हिरोले गुण्डाहरुलाई पिटेको देखेर हिरोइन प्रभावित बन्छिन् । हिरोइनले हिरोलाई आफ्नो घर लिएर जान्छिन । बुवासँग परिचय गराउँछिन् । चिया पकाएर ल्याउँछिन् । चिया पिएर उठेर हिँड्ने बेला हिरोले चिया मीठो भएको बताउँछ । हिरोइन हिरोसित एकतर्फी मायामा पर्छिन् । रातभर निदाउन सक्दिनन् । अनेक कल्पनामा तैरिन्छिन् । त्यही कल्पनामा रोमान्टिक गीत आउँछ । ओछ्यानमा सुतिरहेकी हिरोइनको मुखमा लिपिस्टिक र आँखामा गाजल हुनुलाई नौलो मान्ने हो भने बेग्लै कुरो, होइन भने यस्तो पटकथा उहिल्यै डेट एक्सपायर भइसकेको होइन र ? कुन जमानामा छन् बिराज ?

गीताले जन्माएको बच्चा गजेन्द्रको हातमा पुग्दा अचानक ६ महिना जतिको देखिन्छ ! २२ वर्षपछि एकैपटक अजयलाई हिरोको रूपमा देखाइएको छ । यो पनि पुरानै शैली ।

अजय हतियार किन्न एक गोदाममा जान्छ । हतियारका लागि बिक्रेतालाई हिरा दिन्छ । बिक्रेताले हिरा लिन्छ तर हतियार दिन मान्दैन । लफडा हुन्छ । अजयले आफ्नो सर्ट आफैं च्यात्छ । सिक्स प्याक देखाउँछ । भुटुटु… बन्दुक चलाउँछ । कुनै दक्षिण भारतीय फिल्मको दृष्य याद आयो ?

स–साना कमजोरीहरु त अनगिन्ति नै छन् । शंकर एकजना साथी र पत्रकारकी छोरीलाई लिएर पत्रकार खोज्न ‘१२ गाउँ’ जान्छ । उनीहरु जंगलमा बास बस्छन् । रातको समय आगो बाल्छन् । दृश्य रातिको, खिचाइ चाहीँ दिनको । आगोसँगै देखिएको जंगलको दृश्यमा आकाश उज्यालो देखिन्छ ।

२२ वर्षअघिको गाउँ र २२ वर्षपछिको गाउँमा कुनै भिन्नता छैन । गजेन्द्रका केटाहरु उस्तै छन् । न त गजेन्द्रको लुक्समा नै खासै परिवर्तन आएको छ । मेकअप आर्टिस्टले टाइमलाइन ख्याल गरिदिएको भए पनि यस्तो त्रुटि हुन्नथ्यो ।

चलचित्रले मध्यान्तरमा पुग्दा नै मुलबाटो हराउँछ । मूल कथा गजेन्द्रको क्रुरताको अन्त्य हो । तर, चेलिबेटी बेचविखनदेखि भूमाफियासम्मका प्रसंग घुसाएर झिँजोलाग्दो बनाइएको छ । मध्यन्तरपछि फिल्मले केही गति लिएको छ । अजय र शंकरको साइनो के हो, गजेन्द्र र अजयबीचको कनेक्सन के हो भनेर खुल्दै जान्छ । तर, भिलेनसँग हिरोको जुन किसिमको सघन संघर्ष हुनुपर्ने थियो, त्यो छैन । हिरोहरु एकैपटक भिलेनलाई मार्नका लागि मात्रै टप्किएझैं लाग्छ ।

कतिपय दृश्यमा ब्याकग्राउण्ड म्युजिकलाई अति नै लाउड बनाउँदा दृश्यसँग संगति मिलेको छैन । परम्परागत शैलीमा हिरोको इन्ट्रीलार्ई धमाकेदार बनाउन खोजिएको छ, तर त्यसले खासै तरंग पैदा गदैन । चलचित्रमा पात्रहरुलाई थुप्रै ठाउँमा हिन्दी संवाद बोल्न लगाइएको छ । नेपाली चलचित्रमा हिन्दी डाइलग घुसाउनुको कुनै औचित्य सावित गरिएको छैन ।

साउथ इण्डियन फिल्मको द्वन्द्व निर्देशक ल्याएको भनेर प्रचार गरिएकाले एक्सनमा अपेक्षा बढी हुनु स्वभाविक थियो । अपेक्षा पूरा नभए पनि केही एक्सन सीनहरु गतिलै छन् । ‘१२ गाउँ’ को सिनेमाटोग्राफी आम नेपाली चलचित्रको भन्दा राम्रो छ । यो बाहेक चलचित्रमा सवल पक्षहरु नगण्य छन् ।

सारमा भन्नुपदा ‘१२ गाउँ’ बाट निर्देशक विराज भट्टले निराश बनाए । फिल्म भित्र कलात्मकता र मौलिकता खोजि गर्ने दर्शकले ‘१२ गाउँ’ छुटाउँदा पनि पछुताउनु पर्ने छैन । समिर भट्टलाई हेर्न आतुर टिनएजर्स बाहेक आमदर्शकलाई यो फिल्मले अपिल गर्न सक्दैन । रिलिजपूर्वको माहोलले गर्दा चलचित्रले बम्बर ओपनिङ त गर्यो, तर यो कति टिकाउ होला भन्ने मुल प्रश्न हो ।

Comments

11 responses to “समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    तपाईंको समीक्षा चाहिँ कस्तो हो क्या!सिनेमा भनेकै तपाइँलाई थाहा रहेनछ!अहिलेको जमानामा नेपालमा त्यस्तो गाउँ कहाँ छ अरे।अरे बाबा फिल्म मा भूगोलकोको पढाइ देखाउनु पर्ने हो र कुन जिल्लको भूगोल जनसंख्या कस्तो छ भनेर।सिनेमा भनेकैएउटा काल्पनिक कथा हो जस्मा सबै पक्षले मिहिनेत गरेर दर्शक्लाइ मनोरञ्जन दिने काम गर्छ्न! तपाईंको समीक्षा पुरै बायस भएर लेखिए जस्तो लाग्यो !

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      हलिउड को सुपरम्यान को सिनेमा चाही वास्तविक मौलिक हो रे, त्यस फिल्ममा चाही कुनै पनि काल्पनिकता जोडिएको छैन रे, लेखकको संभावित बिचारमा । 🍆

  2. पिया उमेश Avatar
    पिया उमेश

    देशै तीन पार्टी ले चलाएको मुलुकमा मा एउटा् गाउँ मा एक जना सामन्तिले नचलाउने भन्ने प्रश्न नै उथ्दैन फ्लिम कस्तो होला आफ्नो ठाँउ मा छ मैले हेरेको पनि छैन तर तपाईं हरुले ब्याख्या गरे अनुसार ठिकै छ जस्तो लाग्यो

  3. Raj Avatar
    Raj

    छक्का पन्जाको खुब तारिफ गरेर लेखेको थियो नेपाल प्रेसले । दर्शकले मन पराएको फिल्म हो १२ गाउं ।

    1. चित्र कुमार वाग्ले Avatar
      चित्र कुमार वाग्ले

      नबिनकाजीले अब हलिउड फिल्म अवतार काे पाण्डाेरा पनि वास्तविकतामा खाेज्दै हाेला । रिभ्यू दिँदा पुर्वाग्रही तवरले दिने नगराैं न, नत्र त्रिम्रा रिभ्यू पनि पाठकले पात साेच्नेछन ।

  4. Nick Kashyap Avatar
    Nick Kashyap

    लेखकज्यु को मनोबाद पढियो । तपाइ पत्रकार हो कि समिक्षक ? समिक्षक बन्न कडा मिहीनेत गर्नुहोस् भन्ने शुभकामना छ । फिल्म भनेको व्यापार हो, यति बुझे हुन्छ, दर्शकले पैसा बराबरको मनोरन्जन प्राप्त गरे भने फिल्म सफल हुन्छ। मनोबाद पढेपछी थाहा भयो लेखकज्यू चाही मौलिक सिनेमाको धंगधंगीबाट पिडीत हुनुहूदो रै छ । एक्सन सिनेमा को दर्शकहरू नेपालमा छन्, त्यही भएर बिदेशी एक्सन सिनेमा नेपालमा चल्छन। हलिउडका काल्पनिक मार्बल सिनेमाहरू मा नेपाली दर्शकको ओइरो हुन्छ । त्यसैले फिल्ममा कल्पनाको संसार हुन्छ र दर्शक ले त्यो मनपराउछन्। भर्खरै मौलिक भनिएको जारी फिल्म हेरे युट्युबमा, ठिकठिकै रहेछ। समिक्षकहरूले त बबाल राम्रो छ भनेका थिए, तर त्यस्तो बबाल राम्रो चाही लागेन। पूर्बी नेपालको परम्परा नबूझ्नेलाइ त जारी सिनेमा बुझ्न गार्हो रैछ । त्यसैले मौलिक कथाबस्तु हूदैमा फिल्म राम्रो हुन्न। बरू डकुमेन्टरी हेरे हुन्छ।

    1. पिताम्बर दाहाल! Avatar
      पिताम्बर दाहाल!

      Right!

  5. साईलेन लिम्वु Avatar
    साईलेन लिम्वु

    सिनेमा दर्शकले हेरेर आफै समीक्षा गर्ने हुन
    एकतर्फी रिस साधेको जस्तो देखियो समिक्षक जी, हलमाबाउने दर्शकको चाप हेरेर मुल्याङ्कन गर्नुस। छक्का पन्जा बाट दाना पानी आयो कि कसो १२ गाउँ लाई गिराउनु भनेर ?

  6. Syam Avatar
    Syam

    फिल्म भित्र कलात्मकता र मौलिकता खोजि गर्ने दर्शकले ‘१२ गाउँ’ छुटाउँदा पनि पछुताउनु पर्ने छैन ।

  7. Manahari adhikari Avatar
    Manahari adhikari

    12 gau teti ramro movie Haina jun maile expect gareko thiya

  8. Binod xetri Avatar
    Binod xetri

    यस्ता वायात समीक्षा नगरेकै राम्रो पत्रकार ज्यू।
    कुन चाहिँ फिल्म छ र भने जस्ताे
    South फिल्म हेर्नु भा छ र तपाईंले पनि 😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *