‘एयर होस्टेस’को मागमा मन्त्रीले गराए सहमति, नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान सुचारु

काठमाडौं । नेपाल वायुसेवा निगमका क्याबिन क्रु (एयर होस्टेस)का मागमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहल लिएर व्यवस्थापन पक्षलाई सहमत गराएपछि अवरुद्ध भएका अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत अस्वीकार गर्दै निगम व्यवस्थापनले ४५ वर्ष उमेर पुगेका एयर होस्टेसलाई अवकाश दिन लागेपछि आन्दोलन भएको थियो । शुक्रबारको वार्ता असफल भएपछि रातिको दुबई उडान रद्द हुन पुगेको थियो भने शनिबारका कुनै उडान भएनन् ।

करिब ७ घण्टा लामो वार्तापछि निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेर हद कायम गर्नेलगायतका सहमति भएको छ । अब निगम व्यवस्थापनले तत्कालै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउनेछ ।

मन्त्री बद्री पाण्डे, सचिव, निगम कार्यकारी अध्यक्षलगायत व्यवस्थापन पक्षका सबै जना वार्तामा थिए । एयर होस्टेसका तर्फबाट अध्यक्ष प्रदा कार्की, प्रजिता कार्की, स्मिता गुभाजूलगायत सहभागी थिए ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै ४५ वर्ष पुगेका एयर होस्टेस (क्याविन क्रु) लाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो ।

निगमभित्रका १७२ जना क्याविन अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीहरूमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।

Comments

3 responses to “‘एयर होस्टेस’को मागमा मन्त्रीले गराए सहमति, नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान सुचारु”

  1. ksp pyl Avatar
    ksp pyl

    सिजनको बेलामा हडताल गराउन लगाएर रद्द भएको उडानका प्यासेन्जरलाई कमिशन खाएर अर्को एयरलाईन्स पठाउन निगम व्यवस्थापनले गरेको नाटक हो यो ।

  2. Aras Avatar

    एअर होस्टेज भनेको जवान – चल्दा पुर्जा – फुर्तिला अनि परेको बेला प्यासेन्जर लाइ सहयोउग गर्न सक्ने हुनु पर्छ तर इ ५० बर्ष को बुडी – बुडा हरु ले के कम गर्न सक्लान ? आफै ब्रिद्द भत्ता खाइ सहारा खोज्ने बेला ? गनायेरा लम्पसार पर्नुजेल जागिर खाइ रहु – जहाज नभए पनि हाजिर मा तलब खाइ रास्ट्रिये धोजा बाहाक लाइ खोक्रो बनाउ,

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    उमेर जाति, लिगं का आधारमा जागिरमा कूनै भेदभाव गर्न पाइन्न, जबसम्म व्यक्ति सक्षम हुन्छन काममा। त्यसकारण ५० बर्ष को हदम्याद पनि अन्याय हो । कि तरूनि मोडल चाहियो भ्नूपर्यो निगमले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *