चितामा जलिरहिन् सरिता, नजलाउनु भन्दै रोइरहे लक्ष्मण र युवराज

कैलाली। ७ वर्षका लक्ष्मण जैशी ‘मेरो आमालाई नजलाउनु ’ भन्दै कराउँदै थिए । ९ वर्षका युवराज आमाको लास नजिकै आँखामा आँसु लिएर टोलाइरहेका थिए । दुवैले रुँदै आमाको चितामा दागबत्ती दिए।

चितामा सरिताको शव जल्दै गर्दा लक्ष्मण, युवराज डाँको छोडेर रोए । मलाम गएका सबै विक्षिप्त भए । कसैको आँखा ओभानो रहेन । बालकहरूको अवस्था देख्दा सबै भावविहल भए । त्यहाँ सन्नाटा छायो ।

अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरिता देवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो ।

मध्यरातमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा उनले बाटोमा नै बच्चा जन्माइन् । त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो ।

सरिताका पति टङ्क जैशी अपाङ्ग छन्। उनी आँखा देख्न सक्दैनन् । ससुराको पनि दुई वर्ष पहिल्यै मृत्यु भइसकेको हुँदा घरको सबै जिम्मेवारी सरिताकै काँधमा आएको थियो ।

समयमा उपचार नपाउँदा सरिताको मृत्यु भएपछि अहिले ९ वर्षका युवराज, ७ वर्षका लक्ष्मण र भर्खरै जन्मिएको शिशु टुहुरा भएका छन् । आमाको मृत्युले शोकमा रहेका अबोध बालकहरूलाई के खाने के लगाउने भन्ने चिन्ताले पनि सताउन थालेको छ ।

‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, अन्य दुई बालकको अवस्था पनि त्यस्तै छ’ स्थानीय टेक थापा भन्छन्, ‘आमाको मृत्युपछि उनीहरुको बिचल्ली भयो । बुवा अपाङ्ग, हजुर आमा पनि अस्वस्थ उनीहरुको लालनपालन मै समस्या आउने भयो ।’

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अक्कल रावलले आमाको मृत्यु भएपछि सहारा विहीन भएका बालकहरूको लागि प्रदेश सरकारले यथोचित व्यवस्था गर्नुपर्ने बताउँछन् ।

‘अहिले पनि समयमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सृजना हुने कुरा निकै दुखत हो ’ उनले भने ‘आमाको मृत्यु भएपछि ती बालकहरूको बिचल्ली हुने देखिएको छ । उनीहरूलाई पढाउने देखि गाँसबास र कपासको लागि प्रदेश सरकारले चासो देखाउनु पर्छ ।’
स्थानीयहरू पनि आमाको मृत्युपछि अबोध बालकहरूको बिचल्ली हुने कुराले चिन्तित बनेका छन् ।

Comments

2 responses to “चितामा जलिरहिन् सरिता, नजलाउनु भन्दै रोइरहे लक्ष्मण र युवराज”

  1. bharat kumar thapa Avatar

    सरकारले उनीहरूको कोही छैन भने पढाउने हुर्काउने जिम्मेवारी लिनुपर्छ

    1. Jayram oli Avatar
      Jayram oli

      M k hi help garxu Khana r padhan ko lagi

Leave a Reply

Your email address will not be published. Required fields are marked *