नख्खुमा टहरा भत्किएर बगेका २ जना अझै भेटिएनन्, साथीकहाँ आएका थिए कार्की

काठमाडौं। ललितपुरको नख्खु खोला किनारमा टहरा भत्किएर बगेका ५ जनामध्ये २ जना अझै भेटिएका छैनन्। राजु शाह, राज शाह र मेघना शाहको उद्धारपछि उपचार भइरहेको छ।

सेतु शाह र देवराज कार्की बेपत्ता छन्। समयमा उद्धार हुन नसक्दा टहरामाथि बसिरहेका उनीहरू एक्कासि भत्किएर बगेका थिए। सेतु र मेघना राजुका छोरी हुन्। राज र राजु दाजुभाइ हुन्।

बगाउन सुरु गरेको ठाउँभन्दा झन्डै ७/८ सय मिटरको दुरीमा राज र मेघनाको उद्धार भएको थियो। मेघनालाई समातेर बगिरहेका राजलाई देखेपछि किनारमा बसेर हेरिरहेका चनिकलाल तामाङले हाम फाल्दै उनीहरूलाई निकालेका थिए। त्यसपछि स्थानीय टोल सुधार समितिका अध्यक्ष पूर्ण केसीसहितको टोलीले उनीहरूलाई हस्पिटल पुर्‍याएको थियो।

‘चनिकलाल जीले ठुलो आँट गरेर हाम फाल्नु भएछ। नजिकै एक जना व्यक्ती पनि बगिरहेका थिए रे। उनलाई चाहिँ बगाएर गहिरो भागमा पुर्‍याई गएछ’, केसीले भने। केसीका अनुसार काका भतिजीको उद्धार गर्नु अगावै राजु आफै निस्किएका थिए।

राजुले घटनाका बेला टहरामा ५ जना रहेको र देवराज कार्की नाम गरेका साथी दुई दिनअघि आएको बताएका छन्। ‘मैले हिजो साँझ राजुसँग कुराकानी गरेको थिएँ। देवराजका आफन्त साँझ फोटो लिएर देखाउन आउनु भएको रहेछ। राजुले उनी नै हो भनेपछि आफन्त दुखित भएर फर्किएछन्’, केसीले भने।

राजु ५ र ६ वर्षका दुई जना छोरी र भाइ राजसहित उक्त टहरामा ग्रिलको काम गर्दै बस्दै आएका थिए। घटनाका बेला श्रीमती भने त्यहाँ थिइनन्। उद्धार गरेर वाहीवाही कमाएका चनिकलाल तामाङले आफूले बाढी हेरिरहेको बेला एक जना मान्छे एक्कासि बगेर आएको देखेपछि हाम फालेको बताए।

‘बिहान सात बजेतिर बाथरुमबाट उभिएर यसो खोलातिर हेरेको बाढी बढेको देखेँ। त्यसपछि नजिकै गएर चप्पल खोलेर अगाडि हेरिरहेको थिएँ। एक जना मान्छे बगेर आइरहेको देखेँ। अर्को मान्छे भने भँगालोतिर पसिगयो। मेरो छाती छातीसम्म पानी थियो। हाम फालेँ। गएर ती व्यक्तिले समाएँ। त्यतिबेला पो थाहा भयो उनले बच्चा पनि च्यापेका रहेछन्’, भैँसेपाटीमा श्रीमती, छोरी र बहिनी नाता पर्नसहित ४ जनाको परिवारमा बसिरहेका चनिकलालले भने।

प्लटिङ गरेको क्षेत्रमा बगेर आइरहेकाले दुई जनालाई उद्धार गर्न सजिलो भएको स्थानीय बताउँछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *