बर्दघाटको बासखोलामा ९ वटा घर भत्किए

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका९२ बासखोलामा ९ वटा घर भत्किएका छन् । अविरल वर्षाका कारण एउटै गाउँका घर भत्किएका हुन् ।

स्थानीय कोशबहादुर आलेको ढुंगामाटोले बनेको २ तला, कादर दर्लामी, हरिबहादुर राई, तोमनसिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलबहादुर रुचाल, दलबहादुर राई, कुशबहादुर आलेमगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले जानकारी दिए।

घर भत्किएकाहरू आफन्तका घरमा आश्रय बसेका छन् । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नारायणीको बाँध भत्किएर सुस्तामा पस्यो बाढी

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाँध (तटबन्ध) भत्किएर बाढी पसेको छ । वर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा अहिले बाँध नै भत्काएर पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दो रहेको र बस्तीमा नदीको पानी पसेको कारण सुरक्षित स्थानमा सर्नका लागि स्थानीयलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको भनाइ छ ।

बाढी पसेको स्थानका नागरिकलाई सुस्तामा रहेको आपत्कालीन आश्रय स्थलमा राखिएको छ । शनिवार बिहान थारु गाउँ जलमग्न भएकोमा अहिले नदीको पानी सुस्ताको सैनिक टोलबाट बाढी पसेको हो ।

बाढी पसेको भए पनि मानवीय क्षति भने भएको छैन । जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको बहाव उच्च रहेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजग रहन प्रशासनले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *