काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा बोल्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि एमालेसँग मिलेको भए पनि सात बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको बताए।
उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार छ। हामीहरूले सरकारमा पनि छौँ प्रतिस्पर्धी पनि हौँ। कति अप्ठ्यारो होला तपाईँहरूले बुझ्नुस्। आज सहकार्यमा छौँ भोलि प्रतिस्पर्धा पनि गर्नु छ। के कुरामा सहकार्य गर्ने के कुरामा प्रतिस्पर्धा गर्ने यो महत्त्वपूर्ण कुरा भएको छ। सरकारको सय दिन नपुगी धेरै टीकाटिप्पणी गर्न मिल्दैन होला सायद ।’
पार्टी सरकारमा भए पनि गरेको कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भएकाले आफूले बोल्न थालेको बताए।
उनले थपे, ‘मैले अलिअलि बोल्न थालेको छु। कहीँ कमजोरी भइरहेको लागेकाले भनिरहेका छौँ पनि। यसलाई कांग्रेसका मन्त्रीहरुले अन्यथा लिइदिनुभएन। हामी एउटै पार्टीका हौँ। कांग्रेस मात्रै होइन सरकार पनि राम्ररी अगाडि बढोस् भन्ने पक्षमा छौँ। यो सरकार राजनीतिक स्थायित्वको लागि एमालेसँग हात मिलायौँ। तर, सात बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। संविधान संशोधनको विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि एमालेसँग मिलेको बताए। सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुने उनको भनाइ छ।

Leave a Reply