माधव नेपालको ‘एक्जिट डोर’ मा उभिएर हेर्दा

सिनेमाको ‘हाफ टाइम’ जस्तै भएको छ, नेकपा (एकीकृत समाजवादी) । यतिबेला ‘एक्जिट डोर’ मा रातो बत्ती बलेको छ ।

के हुन्छ, कसो हुन्छ भन्ने कौतुलहताका बीचमा कसैलाई पिसाब लाग्छ । कसैलाई चिसो पिउन मन लाग्ने । पपकर्न र त्यस्ता टिटबिटले स्वाद फेर्ने समय हो यो ।

मेटमणि चौधरीको विवादास्पद अभिव्यक्तिका विषयमा पार्टीले सोधेको स्पष्टीकरणउपर जवाफ दिइसकेपछि ‘अझै आलोचनाको गीत गाउनु नपर्ने’ अध्यक्ष माधवकुमार नेपालको भनाइ छ । फेरि उनकै कोटरीका उर्वादत्त पन्त मेटमणिलाई फौजदारी अभियोगमा जेलभित्र सडाउनुपर्ने माग गर्दैछन् । झलनाथ त झलनाथ नै भइहाले, मेटमणिलाई एकछिन पनि पार्टीमा राख्नुहुँदैन भन्ने मान्यतामा छन् ।

यसो हुँदाहुँदै एकीकृत समाजावदीको पर्दामा ‘इन्टरभल’ देखिन्छ । किनभने, समय सोह्र श्राद्धको छ, लगत्तै घटस्थापना शुरू हुन्छ । अहिले पितृपक्ष चलिरहेको समयमा धेरै पाप चिताउनु, अधर्म र असहिष्णु बन्नु हुँदैन । असोज १८ मा घटस्थापना शुरू हुन्छ । धार्मिक मान्यताअनुसार ‘घट’ को स्थापना हुने दिनलाई घटस्थापना भनिन्छ । ‘घट’, अर्थात् घटनाहरू अब हुँदैछन् । स्मरणीय छ, २०५९ को असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले व्यवस्थामाथि नै ‘कू’ गरेका थिए । ज्ञानेन्द्रपक्षीय ओली आज जिउँदै छन् ।

धार्मिक ग्रन्थ चण्डीमा उल्लेख भएअनुसार शक्तिरूपा देवीले मधु र कैटभ नामक राक्षकको बध गरेपछि यो पर्व शुरू हुन्छ । शुरूको दिनलाई घटस्थापना भनिन्छ । अर्थात्, ‘घटना स्थापना’ लाई घटस्थापना भनिएको हो । अहिले हामी कलियुगमा छौं । कोही ‘राक्षस’ नै हो भने पनि मारेपछि ज्यानमुद्दा लाग्छ । यसर्थ हामी मधु र कैटभको प्रतीकका रूपमा अष्टमीमा खसी-बोका बध गरेर पर्व मान्ने गर्दछौं ।

अहिले अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई छिन्नभिन्न पार्नु ओलीको मूल मक्सद हो । उनले सकेसम्म घटस्थापना नकाट्ने, कटिहाले कोजाग्रत पूर्णिमाभित्रै काम फत्ते गर्ने मक्सद पालेका छन् । यसप्रकार एकीकृत समाजवादीको ‘एक्जिट डोर’ बन्द हुँदैछ ।

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना खसी र बोकालाई असारको महाधिवेशनदेखि साउन-भदौको ‘मनोनीत एवं निर्वाचन काण्ड’ बाटै तह लगाइसकेको छ । त्यसैले अहिलेको ‘इन्टरभल’ र ‘एक्जिट डोर’ को रातो बत्तीले विशेष अर्थ राखेको हो ।

एमालेभित्र विकास भएको व्यक्तिवादी अहंकारवादले कम्युनिष्ट विरासतकै विसर्जन गर्ने भयो । यसपछि त्यहाँबाट विद्रोह गरी जन्मिएको नेकपा (एकीकृत समाजवादी) को पछिल्लो ‘राजनीतिक प्रदर्शन’ मध्यान्तरमा छ । पार्टी बन्नुअघि नै र बनिसकेपछि विभिन्न चरणमा ‘एक्जिट डोर’ खुल्ने, लाग्ने चल्दै आयो । अहिले उक्त पार्टी एउटा रोमाञ्चक मोडमा पुगेको छ ।

यो पार्टी कसको हो भन्नेमा कुनै द्विविधा वा प्रश्न छैन । माधव नेपालले विद्रोह गरेर निर्माण भएको पार्टी हो । त्यसपछि त्यहाँ मोहनचन्द्र अधिकारी, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, बद्रीप्रसाद खतिवडा, कमल कोइरालासहित अनगिन्ती एमाले विरासत निर्माण गर्ने मूर्धन्य व्यक्तित्व जोडिए । बुझौं कि, जसजसले एमाले बनाए, उनीहरू नै त्यहाँबाट बाहिरिए । त्यसको नाम नेकपा (एकीकृत समाजवादी) भयो । अहिले त्यसैको मध्यान्तरमा पुग्दा शुरूवातजस्तो रौनक, छनक, उत्साह र ऊर्जा छैन ।

कम्युनिष्ट आन्दोलनको रूपान्तरण जरुरी छ । माधव नेपाल, झलनाथ खनाल, अर्थात् जसले हिजो कोअर्डिनेशन केन्द्र बनाउँदै छिन्नभिन्न कम्युनिष्ट घटकका बीच एकता गराए । नेकपा (माले) र प्रकारान्तरमा एमाले बनाए । उनीहरूले नै आन्दोलनको पुनर्गठन गर्ने भनिसकेपछि त्यसमा कुनै द्विविधा नपाली पंक्तिकारजस्ता थुप्रै सुधासाधा, वृद्धवृद्धा, बालक, बबुरा सवै सामेल भइयो ।

यो आन्दोलनका निम्ति वामदेव गौतम उत्तिकै मूर्धन्य थिए । तर, उनी ‘ढोडको लौरो टेको न हतियार’ जस्ता हुँदा उनको ‘कोर टीम’ बाट बहिर्गमित पंक्तिकारसहितको ठूलो पंक्ति आज पनि एकीकृत समाजवादीमै छ । यसमा आएपछि यसका आधाउधी दृश्य देखियो । पिसाब फेर्न निस्किँदा केही कुरा सोच्न बाध्य भइएको छ ।

मनोनीत केन्द्रीय सदस्यबाट पदाधिकारी चयन गर्दा अरुले त हारे-हारे, माधव नेपाललाई पार्टी बनाउने कुरामा लेटरप्याड-स्ट्याम्प तयार पार्ने चरणबाट सहयोग गरेका लक्ष्मण केसी पनि बाँकी भएनन् । उनीहरू हिजोको एमालेभित्र पनि माधव नेपालका ‘वंशज नागरिक’ थिए । पंक्तिकारजस्ता ‘अंगीकृत’ ले त्यहाँ लागेका दिनदेखि खेप्नु परेका भुक्तमान अर्को लेखनीमा पेश गरौंला । अहिले चाहिँ यतिमात्रै बुझौं कि, गुटको हो कि होइन भन्ने बुझ्नका निम्ति थुक, खकार र रगत यहाँ पनि जाँचिन्छ, जसरी ओलीले एमालेमा जाँच्छन् ।

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना खसी र बोकालाई असारको महाधिवेशनदेखि साउन-भदौको ‘मनोनीत एवं निर्वाचन काण्ड’ बाटै तह लगाइसकेको छ । त्यसैले अहिलेको ‘इन्टरभल’ र ‘एक्जिट डोर’ को रातो बत्तीले विशेष अर्थ राखेको हो ।

लक्ष्मण केसीहरूलाई बिगारिँदा माधव नेपाल कस्ताका भर परे भन्ने कुरा बुझ्नुपर्छ । पार्टी कार्यालयको प्रचार विभागभित्र चुक्कुल लगाएर ‘मिटिङ’ चलाउने मान्छेलाई महासचिवको उम्मेदवार बनाउँदा लक्ष्मणलाई लात हानियो । चुक्कुल लगाएको कोठाभित्र के-के हुन्थ्यो ? नदेखेको कुरा नलेखौं ।

महाधिवेशनपछि त्यसको राजनीतिक, वैचारिक सन्देश पर्खिएका नेता-कार्यकर्ताले एउटा फेक (नक्कली) सेक्स टेपको ‘दर्शन’ गर्नुपर्‍यो । त्यो नक्कली भिडियो कसले बनायो ? किन बनायो ? यी प्रश्नको निरूपण कानून कार्यान्वयन गर्ने निकायले गरोस् । त्यही नाममा समाचार लेखेका पत्रकारले कतै पनि व्यक्तिको नाम लेखेनन्, अनुहार छोपे । तर, ‘तत्व’ हरू यसरी सल्बलाए कि, त्यसको पात्रलाई ‘त्यो मैं हुँ’ भन्दै उफारियो । यसप्रकार पार्टीका संस्थापक केन्द्रीय सदस्य एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठसम्मलाई साइबर क्राइमले बयान लिन बोलायो ।

हुने, नहुने चर्तिकला आफू गर्ने, पीडा र यातना पत्रकारलाई दिने । सञ्चार माध्यममा प्रकाशित, प्रशारित सामाग्रीउपर नियामक निकायले कारवाही अगाडि बढाइरहँदा फेरि प्रहरीको साइबर व्युरो गुहार्ने तहको हर्कत भयो । के कानुनी राज्यमा एउटै कसुरमाथि दोहोरो, तेहेरो दण्डको सुविधा हुन्छ ? पंक्तिकारले नेतृत्व गरेको संगठनका महासचिवले यही आशयको विज्ञप्ति प्रकाशित गर्छन् । त्यसपछि ‘चुक्कुल लगाउने’ टोली उनीमाथि खनिन्छ ।

को हो गलत ?

पार्टी विभाजन हुनुको कारणबारे एउटा जिउँदो मान्छेले मुटुमा हात राखेर भन्दा माधव नेपाल र केपी ओलीमा केपी नै गलत भन्नुपर्छ, भन्छ पनि । तर, माधव नेपाल कस्ता–कस्ताका पछाडि लागेर सकिँदैछन् भन्ने कुरा सम्झिँदा विरक्त लाग्छ ।

भन्छन् नि, ‘लाहुरेभन्दा गुण्टा बढी उफ्रिनु हुँदैन ।’ माधव नेपाल २५ वर्षदेखि कोटेश्वरको उही घरमा बस्छन् । उनको भेटघाट कक्ष २५ वर्षअगाडि जस्तो थियो, आज पनि त्यस्तै छ । तर, काँडाघारीतिर कोटेश्वर बिर्साउने महल कसरी बन्छन् ? जब लाहुरेभन्दा गुण्टा बढी चम्किन्छ, अनि त्यस्तो हुन्छ । यसर्थ, गलत माधव नेपाल हैनन्, उनले व्यहोरेका ‘दुःख’ गलत छन् ।

विद्रोह सही थियो । तर, यसले विद्रोहको औचित्य पुष्टि गरेन । माधव नेपालको कुरा एउटा छ, झलनाथको अर्को । घनश्यामका कुरा सुन्दा दुबैका भन्दा फरक छन् । गर्नुपर्ने राजनीतिक विमर्श । भइरहेको छ, नक्कली सेक्स टेप कसले ल्यायो र मिडियामा लग्यो भन्नेबारेको चासो ।

अब ‘एक्जिट डोर’ बन्द हुँदैछ

केपी ओलीलाई अरु केही चाहिएको छैन, माधव, झलनाथ, वामदेव, भीम रावलहरूको सर्वनाशबाहेक । कम्तीमा आफू बाँचुञ्जेल तिनीहरू एमालेमा नभए सुखले मर्न पाइन्छ भन्ने उनलाई लागेको हुँदो हो । आफू सुखले मर्ने नाममा एउटा दुस्साहसी आन्दोलनबाट निर्माण गरेको विरासतका निर्माणकर्तालाई निषेध गर्ने हक उनीसँग कदापि छैन ।

अहिले अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई छिन्नभिन्न पार्नु ओलीको मूल मक्सद हो । उनले सकेसम्म घटस्थापना नकाट्ने, कटिहाले कोजाग्रत पूर्णिमाभित्रै काम फत्ते गर्ने मक्सद पालेका छन् । यसप्रकार एकीकृत समाजवादीको ‘एक्जिट डोर’ बन्द हुँदैछ ।

यसमा को पिसाब फेर्न, रिफ्रेस हुने वा अन्य कुनै नाममा उताउतै भाग्लान्, थाहा छैन । तर, यो ‘एक्जिट डोर’ माधव नेपालको पार्टीका निम्ति एउटा ठूलो संकट भने अवश्य हो ।

Comments

5 responses to “माधव नेपालको ‘एक्जिट डोर’ मा उभिएर हेर्दा”

  1. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    लेखन शैली रमाइलो छ

  2. Nagendra Avatar
    Nagendra

    What do you mean by this “ ज्ञानेन्द्रपक्षीय ओली आज जिउँदै छन् ।”
    You showed your real face and level : little mind , ill minded !!
    Real representative of MKN who just prays for the death of Oli !!

  3. ksp pyl Avatar
    ksp pyl

    ओलिलाई गाली गर्दै ठूलो भाग खान गएको भाग नपाएपछिको रोईलो हो यो । हामीले त दिल्लीका टट्टुहरूको झुण्ड हो भनिसकेको हो । खास्टो भित्रको विरालोले आखिर म्याउँ गरिछाड्यो मेटमणी मार्फत । यो पार्टी बनेकै चुच्चे नक्साको कारण हो । एस भित्रका अनजान, ईमान्दार, देशभक्तले बुझ्दै जालान । ठेकेदारहरू त बुझ पचाउँछन् र धेरै गीत गाईरहन आवश्यक छैन भन्छन् ।

  4. bharat kumar thapa Avatar

    नेकपा एमालेलाई सक्न प्रभुहरूको चाकरी गर्न भारत नेका माओवादीको नजरनाबाट सांसदहरू …… एमाले फुटाउने अहिले रोइलो सकेसम्म सबैसँग गठबन्धन गरेर एमालेलाई नामियामेट गर्न लागेको नेकपा एमालेका सबैलाई थाहा छ लेखक महोदय लाई ज्ञान हुनुपर्ने तत्कालीन माले एमाले बनाउने बेलासम्म सि पी मैनाली लगायत पनि थिए खोइ उहाहरू एमालेको विरोधमा तपाईंको बकबक बढी नै हो जहासम्म ब्यक्तिगत कुरा छ त्यो केही होइन महत्वाकांक्षी सोच हो यसलाई को-अडिनेशन देखिको २०३९ हुँदै अध्ययन गर्ने हो भने सबै को गतिविधि छर्लङ्ग देखिन्छ कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेले नै अग्रगामी पार्टी हो भन्ने कुरा लेखक महोदय ले पनि बुझ्न आवश्यक छ चाकरी होइन ।

  5. Bhupendra karki Avatar
    Bhupendra karki

    माकुने र झले एमाले फुटाउने सिखन्डीहरु हुन भन्ने कुरा फेरि छोप्न खोज्छ फटाहा अल्पत्रे!

Leave a Reply

Your email address will not be published. Required fields are marked *