कुम्भराजको बयान- धनराजले श्रीमतीलाई सँगै राखेर सहकारीको रकम फिर्ता गराउने प्रतिबद्धता गरेका थिए

काठमाडौं । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफ्नो प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको आरोप लगाएका छन् ।

संसदीय छानबिन समितिसँगको बयानमा कुम्भराजले धनराजकी पत्नी तत्कालीन सञ्चालक ज्योति गुरुङले रकम अपचलन गरेपछि सहकारी संकटमा पुगेको बताएका हुन् ।

तर धनराजले श्रीमतीसँग डिभोर्स गरिसकेको दाबी गरेका छन् । गुरुङमाथि सहकारी डिभोर्स गरेको आरोप छ । धनराजकी पूर्वपत्नी ज्योति अहिले सम्पर्कविहीन छिन् ।

बयानमा कुम्भराजले भनेका छन्, ‘संस्था समस्यामा पर्नुको कारण प्रवाह भएको ऋण असुल गर्न नसकेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु हो । साथै बचतकर्ताको ठूलो रकम दुरुपयोग पनि भएको थियो । संस्थाको महाप्रवन्धक ज्योति गुरुङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो । उहाँले १२ करोड ५० लाख रकम हिनामिना गरेको देखिन्छ, जुन रकम ब्याजसमेत गरेर १४ करोड ३१ लाख पुगेको छ ।’

उनले विद्यमान अवस्थामा पनि सहकारीको समस्या समाधान गर्न सकिने बताएका छन् ।

कुम्भराजले भनेका छन्, ‘ऋण, जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ । संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, तर पूरा भएन । हाल ज्योति गुरुङ कहाँ हुनुहुन्छ, मेरो जानकारीमा छैन ।’

यो सहकारीको रकम अपचलनको विषयमा समितिले छानबिन गर्न सिफारिस गरेको छ । यस सम्बन्धमा सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

Comments

2 responses to “कुम्भराजको बयान- धनराजले श्रीमतीलाई सँगै राखेर सहकारीको रकम फिर्ता गराउने प्रतिबद्धता गरेका थिए”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    पैसा तिरेपनि यो ठग धनराजलाइ कानुनले बाध्न पर्छ।

  2. Gopal Thapa Avatar
    Gopal Thapa

    सके सम्म- _पुर्व या भुपु कुनै पनि तहमा होस।चाहे प्रेमी प्रेमिका चाहे पति/पत्नि या टिकटक फेसबुक मा या कोइ पनि होस।सावधान रहनुहोस कुनै पनि समयमा जे पनि हुन सक्छ।जस्तै सिधासाधा गुरुङ भाइ अहिले बहुत मुसिबतमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *