काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले कांग्रेस र एमाले एक ठाउँमा उभिनुको पछाडि सहजता नभएको बताए ।
उनले भने, ‘कांग्रेस र एमाले एक ठाउँमा उभिनुको पछाडि यो स्वाभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी हुन्, तर हामीले देशको जुन अप्ठेरो देख्यौं, त्यो समस्या समाधान गर्न हामी एक ठाउँमा उभिन तयार भयौं ।’
उनले सरकार दुई पार्टीको मनोमानी र सिन्डिकेट कायम गर्ने पक्षमा नरहेको बताए ।
मन्त्री पाण्डेले थपे, ‘यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं । त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्वन्द्वीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो ।’
कांग्रेस-एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभूति गरेर एकताको बाटोबाट २०८४ सम्म नेपाललाई एउटा गति दिन सकिने उनले विश्वास व्यक्त गरे ।

Leave a Reply