रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुटवलदेखि नारायणगढसम्मको बाटो मोटरमा यात्रा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आफूलाई यो सडकमा यात्रा गर्न ४ घण्टाभन्दा बढी लागेको भन्दै उनले यात्रुले दिनहुँ कष्ट भोग्नुपरेको उल्लेख गरे ।
बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही १ ले गरेको अन्तरविद्यालय बक्तृत्वकला कार्यक्रममा शर्माले प्रधानमन्त्री मोटरमा हिंड्ने हो भने छिटो कसरी बन्छ भन्ने उनमा चेतना आउने तर्क गरे ।
‘देशको प्रधानमन्त्रीले नारायणगढदेखि बुटवलसम्म मोटरमा चढेर एकपटक मात्र हिड्नुभयो भने यो बाटो छिटो कसरी बनाउने भन्नेकुरा चेतना आउँछ’, उनले भने ‘७ वर्ष भयो ठेक्का लागेको । कति धुलो खानुपरेको छ । सडक छिटो सक्ने सरकारले तदारुकता राखोस् । बजेटको सम्बन्धमा सरकारले कन्जुसाइ नगरेर लगानी गरोस् । दिउसो पनि नबनाएको बाटो मध्यरातमा पनि बनाइरहेको देख्न पाइयोस् ।’
महामन्त्री शर्माले देश बन्दैन भनेर निराशा नहुन विद्यार्थीहरुलाई आग्रह गरे । विगतमा तुलनामा बाटो, खानेपानी, विजुली, सञ्चार क्षेत्रमा धेरै विकास भइरहेकाले देशमा केही हुँदैन सोँच मनबाट फाल्नुपर्ने उनले बताए ।

Leave a Reply