२२ लाखको चेक बाउन्सका आरोपी उल्टै जाहेरवाला मिटरव्याजी भन्दै प्रशासन पुगेपछि…

काठमाडौं । बैंकिङ कसुरका एक आरोपी जाहेरवाला मिटरब्याजी भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जिल्ला प्रशासन कार्यालयको पत्रपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

काठमाडौं जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेपछि जिल्ला अदालतमा सिन्धुपाल्चोकको इन्द्रावतीका २७ वर्षीय सुजन हिमालयविरुद्ध अनुचित लेनदेन (मिटरब्याजी) कसुरमा मुद्दा दायर भएको छ । सर्जु महर्जनले सुजनविरुद्ध मिटरब्याजीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

त्यसअघि सुजनले सर्जुविरुद्ध २१ लाख ६० हजार रूपैयाँ बराबरको चेक बाउन्स गरी जाहेरी दिएका थिए । त्यसपछि सर्जुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।

सर्जुले सुजनसँग १४ लाख रूपैयाँ ऋण लिएकामा २८ लाख रूपैयाँ लिएको भनेर दाबी गरेको र आफूलाई डर त्रास देखाएर २१ लाख ६० हजार रूपैयाँ बराबरको दुईवटा चेक काट्न लगाएको दाबी गरेका छन् । काठमाडौं जिल्ला प्रशासनले यस विषयमा दुवै पक्षलाई राखेर छलफल गराएपनि सहमति हुन नसकेपछि मुद्दाको प्रकृयामा जान प्रहरीलाई पत्राचार गरेको थियो ।

सर्जुका अनुसार उनले सुजनसँग डेढ वर्षअघि व्यापार प्रयोजनका लागि एकपटक ४ लाख र त्यसपछि दुई पटक ५/५ लाख रूपैयाँ लिएको बताएका छन् । त्यसमध्ये करिब ८ लाख रूपैयाँ बैंक खाता र वालेटमा पठाएको तथा ५ लाख ५० हजार रूपैयाँ नगदै फिर्ता गरेको उनको दाबी छ ।

सुरूमा लिएको ४ लाखको ६० प्रतिशत ब्याजदर र १० लाख रूपैयाँको साताको ५० हजार रूपैयाँको दरले हिसाब गरेर आफूसँग २१ लाख ६० हजार रुपैयाँको चेक काट्न लगाएको उनले उजुरीमा उल्लेख गरेका थिए । यता सर्जुले सुरूमा ६ लाख, त्यसपछि ५/५ लाख र चौथोपटक ३ लाख रूपैयाँ लिएको सुजनको दाबी छ । त्यसमध्ये सर्जुले करिब ६ लाख रूपैयाँमात्र फिर्ता गरेको उनले बयानका क्रममा बताएका छन् ।

Comments

One response to “२२ लाखको चेक बाउन्सका आरोपी उल्टै जाहेरवाला मिटरव्याजी भन्दै प्रशासन पुगेपछि…”

  1. Atma sth Avatar
    Atma sth

    बैंकिङ कसुरका एक आरोपी जाहेरवाला मिटरब्याजी.
    यो भेनेको के हो ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *