डीएसपीको परिवार नै उडाइदिने धम्की दिने खगेनसिंह बने कोशीको सहकारी मन्त्री

विराटनगर । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू र उनको परिवारलाई उडाइदिने धम्की दिएका कांग्रेस सांसद खगेनसिंह हाङगाम कोशी प्रदेशको मन्त्री भएका छन् ।

ताप्लेजुङका खगेन उद्योग कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट हाङ्गाम ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बू र उनको परिवारलाई लक्षित गरेर सार्वजनिक मञ्चबाट ज्यान मार्ने धम्की दिएका थिए । २०८० साल भदौ २२ गतेको मेलामा भएको विवादका विषयमा दिएको धम्कीले उनी चर्चामा आएका थिए ।

हेर्नुस् त्यो बेलाको भिडओ

ताप्लेजुङको फुङलिङमा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र डीएसपी लिम्बूबीच भदौ २१ गते विवाद भएको थियो । विवादपछि त्यसको भोलिपल्ट हाङगामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी र उनका परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका थिए ।

यो पनि पढ्नुहोस्- कांग्रेस सांसदको आपत्तिजनक अभिव्यक्ति, डीएसपीका परिवारलाई समेत खोजेर मार्ने धम्की (भिडिओ)

सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको थियो । प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो । हाङगामले डीएसपी र उनका परिवारको ज्यान लिने धम्की दिएको घटनाका विषयमा छानबिन भए पनि मिलापत्र गराइएको थियो । पहुँचका भरमा सो घटना मिलाएर उनले उन्मुक्ति पाएका थिए ।

सो घटनामा पनि कांग्रेसले हाङगामको बचाउ गरेको थियो । उनले दिएको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको भन्दै कांग्रेसले डिफेन्स लिएको थियो । प्रहरीले सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गरेको, ढोका बाहिर निकालेको, कुटपिट गरेको र गुन्डागर्दी शैली अपनाएको आरोप कांग्रेसको थियो ।

यो पनि पढ्नुहोस्- सांसदले डीएसपीको परिवारसहितको ज्यान लिने धम्कीपछि अनुसन्धान हुँदै

Comments

One response to “डीएसपीको परिवार नै उडाइदिने धम्की दिने खगेनसिंह बने कोशीको सहकारी मन्त्री”

  1. Subodh Raj Pyakurel Avatar
    Subodh Raj Pyakurel

    अचेल गणतन्त्रलाई बेइज्जत गर्नेले अनेक उदाहरण पाउने गरेका छन्।र यस्तो अवसर रैथाने दलहरुबाट धेरै मिल्ने गर्छ। धम्की र दम्भ सार्वजनिक रुपमा प्रकट गर्ने यी हुल्याहा सांसदले कुनैपनि बेला कसैलाई पनि आक्रमण गर्न सक्छन्। तिनलाई तुरुन्तै दर्जाबाट हटाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *