रवि लामिछानेको दाबी- देउवाले मलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर आउँदा भेटेको थिएँ, अहिले छैन (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई नभेटेको बताएएका छन् ।

पार्टीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई देउवा आफैंले प्रधानमन्त्रीको प्रस्ताव लिएर आउँदा भेटेपछि अहिलेसम्म आफूले नभेटेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ। कहिलेकाहीँ तपाईंहरूले प्रधानमन्त्रीलाई भेट्न गयो, शेरबहादुर देउवालाई भेट्न गयो भनेर लेख्दिनुहुन्छ । म कति मिडियाको तारो बन्ने, त्यस्तो गलत समाचार नलेख्दिनुस् मैले शेरबहादुर देउवाजीलाई भेटेकै छैन । मैले भेटेको छैन शेरबहादुरजीलाई कुनै बेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको हो । उहाँले नै मलाई भेटेको हो । मैले उहाँलाई त्यसपछि भेटेको छैन ।’

फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको साथ छाडेर एमाले कित्तामा आउँदा रास्वपाका नेताहरुले पार्टी सभापतिलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका थिए । तर, त्यो कुरा स्वीकार्न कांग्रेस नेताहरु तयार छैनन् ।

प्रधानमन्त्रीको अफर अस्वीकार गरेर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेपछि कांग्रेसले आफूलाई तारो बनाउँदै आएको उनको बुझाइ छ। यद्यपी अहिले रास्वपा सहभागी भएको गठबन्धन भत्किएर कांग्रेस एमाले सरकारमा पुगिसकेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *