मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मीले सुरु गरिन् विद्युतीय हिंसाविरुद्धको अभियान

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ की प्रतियोगी अस्मी ढकालले बालबालिकामा हुने विद्युतीय हिंसाविरुद्ध अभियान सुरु गरेकी छन् । उनी बाल संरक्षण संस्था ‘चाइल्ड सेफ नेट’सँग सहकार्य गर्दै नेपालमा मात्र होइन, विश्वभरका बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन प्रयासरत छिन् ।

सामाजिक सञ्जालमा बालबालिकाको उच्च जोखिमलाई ध्यानमा राख्दै, अस्मीले साइबर बुलिङ, अनलाइन उत्पीडन, धम्की र अनुपयुक्त सामग्रीहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेकी हुन् ।

अस्मीको अभियानले अभिभावक, विद्यालय, र समाजका अन्य जिम्मेवार निकायलाई बालबालिकालाई सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न प्रेरित गर्दैछ । उनी भन्छिन्, ‘हामी सबैले अनलाइन जोखिमलाई बुझेर बालबालिकालाई सुरक्षित राख्न भूमिका खेल्नुपर्छ ।’

अस्मीले यसअघि पनि समाजसेवामा सक्रिय भूमिका निभाइसकेकी छन्। २०१९ मा कोरोनाभाइरस महामारीको समयमा उनले ‘रेनेसा’ नामक डिजिटल पत्रिका प्रकाशन गरी ओझेलमा परेका युवाहरूको प्रतिभा उजागर गरेकी थिइन् । साथै, उनले काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टरमा स्वयंसेवकको रूपमा पनि काम गरेकी थिइन्।

उनले बालबालिकाको विद्युतीय हिंसाविरुद्धको यो अभियानलाई मिस युनिभर्स नेपालको मञ्चबाट अगाडि बढाउने योजना बनाएकी छन् । उनी यो प्रतियोगितामा विजयी भए अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सक्षम हुने विश्वास छ। अस्मीको यो अभियानले विद्युतीय सञ्जालमा बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उनको अभियानले बालबालिकाको सुरक्षामा मात्रै नभई उनीहरूको मानसिक स्वास्थ्य र समग्र विकासमा सकारात्मक असर पार्ने आशा गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *